


दमौली, १३ पुस । सदरमुकाम दमौलीबाट नजिक भएर पनि ओझेलमा परेको गलेखामकोटको प्रचारप्रसारका लागि युवा कस्सिएका छन् । व्यास नगरपालिका–६ स्थित बाह्रबिसे युवा क्लवले गलेखामकोटको प्रचारप्रसार गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित व्यास गुफादेखि गलेखामकोटसम्म अल्ट्रा हाफ म्याराथन र शुद्ध साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी गरेको हो ।
दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य सहित हाफ म्याराथन र भलिबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष ज्ञानबहादुर गुरुङले बताए ।
पुस ३० गते व्यास गुफादेखि गलेखामकोटसम्म हाफ म्याराथन हुनेछ । उक्त ठाउँको दूरी २१ किलोमिटर रहेको छ । हाफ म्याराथनमा प्रथम हुनेलाई रु ३५ हजार, द्वितीय हुनेलाई रु रु २५ हजार, तृतीय हुनेलाई रु रु १५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
यस्तै माघ १ गतेदेखि भलिबल प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा विजेतालाई रु ४० हजार, ट्रफी र मेडल तथा उपविजेतालाई रु २५ हजार, ट्रफी र मेडल प्रदान गरिनेछ । यस्तै सेमिफाइनल पुग्ने दुई टिमलाई जनही रु दश हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले प्रतियोगिताका लागि वडाले रु एक लाख सहयोग गरेको र स्थानीयवासीलाई पनि यसमा अपनत्व गराइने उल्लेख गरे । छ वटै टोल विकास संस्था, वन उपभोक्ता समूह, आमा समूह, युवा क्लव सबैसँग बैठक बसेर प्रतियोगितालाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको वडाध्यक्ष गुरुङले बताए ।
गलेखामकोट समुन्द्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट जिल्लाकै व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र लमजुङको मध्यनेपाल नगरपालिकाका केही भाग देख्न सकिन्छ ।
