


दमौली, १९ पुस । निर्मल माध्यमिक विद्यालय २०४५ एसएलसी समूहले व्यास नगरपालिका–१ मा बसोबास गर्ने बुद्ध दाहाल बहिरा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा मिष्ठान्न भोजन प्रदान गरेको छ । पूर्णिमाको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
समूहका अध्यक्ष त्रिभुवन श्रेष्ठको सामाजिक सेवाका यस्ता अभियानलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे । व्यास–१ का वडा सदस्य मणिजंग बस्नेतले समूहले यसअघि गरेका सहयोगका कार्यहरूको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक कमला पौडेलले सहयोगप्रति आभार व्यक्त गरेकी छन् ।
समूहले हालसम्म व्यास क्षेत्र विकास कोषको आजीवन सदस्यता (महायज्ञमा २२ हजार रुपैयाँ प्रदान), विभिन्न गम्भीर रोगबाट पीडितहरूलाई उपचार सहयोग, कोभिड–१९ महामारीका समयमा व्यास–२ र व्यास–३ मा निःशुल्क भोजन तथा स्वास्थ्य सामग्री वितरण, व्यास–१० का बाढीपीडितलाई खाद्यान्न तथा नगद सहयोग, गल्बुबेँसीमा आगलागी पीडितलाई राहत, दमौली अस्पतालस्थित मिर्गौला डायलाइसिस केन्द्रमा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
यसैगरी, सिद्धेश्वरी मावि कमलाबारीका ३३ जना विपन्न विद्यार्थी तथा मत्य कन्न्या आधारभूत विद्यालय भद्रकालाका १४५ जना विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) वितरण गरिएको छ । निमल माध्यमिक विद्यालय व्यास–२ मा एक लाख पाँच हजार रुपैयाँको छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ ।
समूहले बिरामी सहपाठी पूर्ण बहादुर बोडे र मधु श्रेष्ठलाई भेटघाट तथा सहयोग गरेको साथै व्यास–२ चारकुनेमा निर्माणाधीन राधाकृष्ण धामलाई धार्मिक पर्यटन प्रवर्द्धनका लागि ५२ हजार ४८४ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
यस्तै, भरतपुर–१८ स्थित वेदान्तेश्वर शिव मन्दिरलाई ५००५ रुपैयाँ, व्यास–२० उज्यालो घरलाई २५ हजार रुपैयाँ बराबरको सामग्री तथा एपेन्डिक्स बिरामी सलिना गुरुङको उपचारार्थ ५ हजार ४८४ रुपैयाँ सहयोग गरिएको समूहले जनाएको छ ।