



नवलपुर, २० पुस । नेपाललाई कागज उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ जनवादी गणतन्त्र चीनको सहयोगमा वि.सं. २०३९ सालमा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको भृकुटी कागज कारखाना हाल खण्डहरमा परिणत भएको छ । कहिल्यै नबिर्सन नहुने औद्योगिक धरोहरका रूपमा रहेको यो कारखाना पछिल्ला १५ वर्षदेखि पूर्ण रूपमा बन्द अवस्थामा रहेको छ ।
आर्थिक उदारीकरणको नीति अवलम्बन गर्दै वि.सं. २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले उद्योग–कलकारखाना निजी क्षेत्रलाई सुम्पिन उपयुक्त हुने निष्कर्षसहित भृकुटी कागज कारखानालाई निजीकरण गरेको थियो । सो क्रममा कारखाना सहितको करिब ५२ बिघा जमिन १७ करोड रुपैयाँ मूल्याङ्कन गरिएको थियो । तर तत्कालीन सरकारी कर्मचारीलाई निरन्तरता दिने शर्तमा नेपाल सरकारले ५ करोड रुपैयाँ छुट दिँदै १२ करोड ९८ लाख रुपैयाँमा गोल्छा अर्गनाइजेसन, काम्रा समूह र कन्क्राफ्टलाई बिक्री गरेको थियो ।


निजीकरणपछि दिवाकर गोल्छा समूहको स्वामित्वमा आएको कारखाना भृकुटी पल्प एण्ड पेपर लिमिटेड नामबाट सञ्चालनमा आएको थियो । तर व्यवस्थापन तथा सञ्चालन खर्च धान्न नसकेको भन्दै लामो समयसम्म आंशिक र पूर्ण रूपमा बन्द हुँदै आएको कारखाना अन्ततः वि.सं. २०६७ फागुन १९ गते व्यवस्थापन पक्षले सूचना टाँसी एकतर्फी रूपमा बन्द गरेको थियो ।
यसअघि वि.सं. २०६४ सालमा सरकारले कर्मचारी तथा मजदुरको पारिश्रमिक वृद्धि गरेपछि तलब भुक्तानी दिन नसकिने कारण देखाउँदै कारखाना बन्द गरिएको थियो । कानुनी प्रावधानअनुसार उद्योग बन्द गर्दा नेपाल सरकारको श्रम विभागमा औपचारिक जानकारी गराई सहमति लिनुपर्ने व्यवस्था भए पनि व्यवस्थापन पक्षले सो प्रक्रिया पूरा नगरी एकतर्फी निर्णय गरेको कर्मचारीहरूको आरोप छ ।
देशको कुल कागज मागको करिब ६० प्रतिशत उत्पादन गर्ने क्षमता रहेको भृकुटी कागज कारखाना बन्द हुँदा १ हजार ५ सयभन्दा बढी श्रमिक र कर्मचारीले रोजगारी गुमाएका थिए । हालसम्म पनि कारखानामा कार्यरत ३ सय ३७ जना कर्मचारीको पारिश्रमिकबापत १० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको बताइएको छ । पारिश्रमिक नपाएको भन्दै कर्मचारीहरूले पटक–पटक आन्दोलन र विरोध प्रदर्शनसमेत गरेका थिए ।
कारखाना बन्द भएपछि गोरखापत्र दैनिक, साझा प्रकाशन तथा विभिन्न छापाखानाले विदेशबाट कागज खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ । दैनिक करिब ७० हजार मेट्रिक टन कागज उत्पादन क्षमता रहेको उद्योग बन्द हुँदा राष्ट्रलाई वार्षिक रूपमा करोडौँ रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको सरोकारवालाहरू बताउँछन् ।
हाल कारखानाका मेसिन तथा उपकरणहरू खिया लागेर प्रयोगविहीन अवस्थामा पुगेका छन् । कारखाना परिसर झाडीले ढाकिएको छ भने संरचना जीर्ण बन्दै गएको छ । सुरक्षा प्रयोजनका लागि हाल माधव घिमिरेको कमाण्डमा १२ जना सुरक्षा गार्ड तीन सिफ्टमा खटिएका छन् । सुरक्षा गार्ड लक्ष्मीप्रसाद चौधरीका अनुसार उनीहरू कारखानाको सम्पूर्ण सुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन् ।
देशकै महत्वपूर्ण औद्योगिक धरोहरका रूपमा रहेको भृकुटी कागज कारखाना पुनःसञ्चालन वा यसको दीर्घकालीन समाधानका लागि राज्यको गम्भीर ध्यान आवश्यक रहेको सरोकारवालाहरूको माग छ ।