


दमौली, २४पुस । भिमाद नगरपालिका–५ ऋषिङ्गपाटनस्थित दीपक माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव एवम् स्वर्ण जयन्ती उद्घाटन समारोह बुधबार भव्य रूपमा सुरु भएको छ। भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन अवसरमा विभिन्न झाँकी प्रदर्शनसहित ऋषिङ्गपाटन परिक्रमा आयोजना गरिएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेख्य सहभागितामा सम्पन्न परिक्रमाले स्वर्ण जयन्तीको उत्साह झल्काएको थियो।
स्वर्ण जयन्ती कार्यक्रम पौष २५, २६ र २७ गतेसम्म विविध शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिहरूसहित सञ्चालन हुने विद्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत आज सेतीकाली साहित्य सङ्घ, तनहुँको आयोजनामा विद्यालयस्तरीय कविता वाचन तथा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। साहित्य, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएका कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
स्वर्ण जयन्ती अवसरमा आगामी दिनहरूमा सम्मान कार्यक्रम, सांस्कृतिक प्रस्तुति, शैक्षिक प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना गरिने विद्यालयले जानकारी दिएको छ।