


दमौली, माघ। जिल्लाको म्याग्दे गाउँपालिका–६ छविसे स्थित पृथ्वीराजमार्ग सडकखण्डमा बसको ठक्करबाट सोमबार एक पैदलयात्री गम्भीर घाइते भएका छन्।
प्रहरी चौकी थर्पु तनहुँका अनुसार दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले सडक पार गर्दै गरेका अन्दाजी २५–३० वर्ष उमेरका एक पुरुषलाई ठक्कर दिएको हो। घाइते व्यक्तिको नाम, थर र वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
प्रहरीका अनुसार ती व्यक्ति विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका तथा फरक क्षमता भएका व्यक्ति रहेको जनाइएको छ। दुर्घटनामा उनको कम्मरको भागमा गम्भीर चोट लागेको र अवस्था सिरियस रहेको छ। घाइतेलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ।
दुर्घटनामा संलग्न बस र बस चालक चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोला निवासी ३८ वर्षीय मनबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँले नियन्त्रणमा लिएको छ।
