तनहुँका जनताका समस्या र आवश्यकताबारे राम्रोसँग जानकारी छ : एमाले उम्मेदवार भगवती न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका जनताका समस्या र आवश्यकताबारे राम्रोसँग जानकारी छ : एमाले उम्मेदवार भगवती न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८२, मंगलवार

    दमौली, ६ माघ । तनहुँ-१ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार भगवती न्यौपानेले तनहुँ–१ का जनताका समस्या र आवश्यकताबारे आफूलाई राम्रोसँग जानकारी रहेको बताएकी छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्तापछि उनले जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    न्यौपानेले विगतमा राष्ट्रिय सभामा रहेर काम गर्दा जिल्लाका विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी विषयमा निरन्तर आवाज उठाउँदै आएको बताइन् । “तनहुँका ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्मका समस्या के–के छन् भन्ने कुरा मलाई नजिकबाट थाहा छ,” उनले भनिन्, “अब प्रतिनिधि सभामा पुगेर ती समस्याको समाधानका लागि अझ प्रभावकारी भूमिका खेल्नेछु।”

    उनले सडक, खानेपानी, सिंचाइ, विद्युत्, स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर सुधार तनहुँ–१ का प्रमुख आवश्यकता रहेको उल्लेख गरिन् । साथै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, कृषकलाई उत्पादनसँग जोड्ने र महिला तथा पछाडि पारिएका समुदायको सशक्तीकरणमा विशेष ध्यान दिने बताइन् ।