उपनिर्वाचनपछि दुई वर्षमा ११० पटक तनहुँ आएको छु : डा. स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उपनिर्वाचनपछि दुई वर्षमा ११० पटक तनहुँ आएको छु : डा. स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८२, मंगलवार

    दमौली, ६ माघ । तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले २०८० सालको उपनिर्वाचनमा विजय हासिल गरेपछि दुई वर्षको अवधिमा ११० पटक तनहुँ आएको बताएका छन्। मङ्गलबार उम्मेदवारी दर्तापछि उनले आफू कागजमा मात्र होइन, व्यवहारमै जनतासँग जोडिएर काम गरिरहेको दाबी गरे।

    डा. वाग्लेले जनताको विश्वास जितेपछि त्यसको सम्मान गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गर्दै भने, “मत दिएर जिताउनुभएपछि जनताबाट टाढा बस्ने होइन, समस्याको बीचमै पुगेर समाधान खोज्नुपर्छ भन्ने मान्यताका साथ निरन्तर तनहुँ आइरहेँ।” उनका अनुसार जिल्लाका विभिन्न पालिका, गाउँ र बस्तीमा पुगेर विकास, सेवा प्रवाह र जनजीविकासँग सम्बन्धित विषयमा प्रत्यक्ष संवाद गरिएको छ।

    उनले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र सुशासनजस्ता मुद्दामा केन्द्रित रहेर काम गर्दै आएको बताए। संघीय संसदमा रहेका बेला तनहुँका आवश्यकता र समस्यालाई निरन्तर उठाउँदै आएको दाबी गर्दै उनले नीति निर्माणमा जिल्लाको आवाज बलियो बनाउने प्रयास गरिएको बताए।