आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०८२, शुक्रबार

    दमौली, १६ माघ । आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्रसयस्थित पृथ्वीराजमार्गमा शुक्रबार साँझ विद्युतीय माइक्रो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । 

    काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०१–००२ ज ८५१८ नम्बरको माइक्रो अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा माइक्रोमा सवार १२ जनामध्ये ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ४ जनाको मध्यम रहेको छ भने अन्य ६ जना सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । 

    दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा इभी चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका हर्कपुर निवासी अन्दाजी २३ वर्षीय मनिष कुँवर र कास्की पोखरा महानगरपालिका चमेरे गुफा निवासी २१ वर्षीया अन्जली पुन रहेका छन् । 

    चालक कुँवरको पेट र छातीमा भित्री चोट लागेको छ भने अन्जली पुनको टाउकोमा गम्भीर चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको छ । दुवै जनालाई प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर, चितवन रिफर गरिएको छ ।

    मध्यम घाइते हुनेहरूमा रौतहट माधवनारायण नगरपालिका–१ निवासी १९ वर्षीय धिरज यादव, काठमाडौँ महानगरपालिका अनामनगर निवासी २० वर्षीय आदर्श सुनार, मकवानपुर थाहा नगरपालिका–९ निवासी २३ वर्षीय राज बलामी (सह–चालक) र पाँचथर हिलीहाङ गाउँपालिका–३ निवासी २० वर्षीया इच्छा लिम्बु रहेका छन् ।

     उनीहरू सबै बोल्न सक्ने अवस्थामा रहेको र आवश्यक उपचार भइरहेको प्रहरीले जनाएको छ । सह–चालक बलामीलाई पनि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

    घाइतेहरूको प्रारम्भिक उपचार आबुँखैरेनी अस्पताल तनहुँमा गरिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ ।