


दमौली, १७ माघ । तनहुँ–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाले ५ तारे होटलमा केन्द्रित पर्यटन सबैका लागि उपयुक्त नहुने बताएका छन् । सबै पर्यटक हिमालका बेसक्याम्प वा धार्मिक स्थल मात्र घुम्न नआउने भएकाले स्थानीय आवश्यकता र सम्भावनामा आधारित पर्यटन मोडेल आवश्यक रहेको उनको भनाइ छ ।
रानाले तनहुँका विभिन्न स्थानमा सञ्चालनमा रहेका होमस्टेलाई आपसमा जोडेर ‘पर्यटन सर्किट’का रूपमा विकास गर्न सकिए काठमाडौं, पोखरा र चितवनबीच यात्रा गर्ने पर्यटकलाई तनहुँमै कम्तीमा दुई दिन सहजै बस्न सक्ने वातावरण बन्ने उल्लेख गरे ।
सहज पहुँच, स्थानीय संस्कृति र परम्परागत खानाको अनुभव, साथै सहरको प्रदूषणबाट टाढा रहेको स्वच्छ प्राकृतिक वातावरणले तनहुँलाई आदर्श ग्रामीण पर्यटन गन्तव्य बनाउन सकिने उनको भनाइ छ।
उनले यस्तो मोडेलले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै किसान, होमस्टे सञ्चालक र साना व्यवसायीको आय वृद्धि हुने र समग्रमा दिगो पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
