


दमौली, २७ माघ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार ज्ञानेन्द्र मल्लले रास्वपाबाट आएको प्रस्तावलाई ‘सही व्यक्ति सही ठाउँमा’ भन्ने अवधारणाअनुसार स्वीकार गरेको बताएका छन् ।
मल्लले रास्वपाले प्रस्तुत गरेको प्रस्ताव आफ्नो सोच र मूल्यसँग मेल खाएकाले राजनीतिमा प्रवेश गर्ने निर्णय लिएको उल्लेख गरे। मङ्गलबार दमाैलीमा खबरपुञ्जसँग उनले भने, “क्रिकेटमार्फत देशलाई केही भनेपनि योगदान दिन सके, अब राजनीतिबाट पनि देशको सेवा गर्ने भावना बोकेको छु ।”
उनले नेपालमा खेलाडीलाई केवल गहनाको रूपमा सजाएर राख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै दक्षता र क्षमताअनुसार प्रयोग गर्न नसकिएकोप्रति दुःख व्यक्त गरे। खेलकुदको माध्यमबाट देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित भए पनि खेल क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको उनकाे भनाइ छ ।
भोलि सांसद हुने अवसर प्राप्त भए बोल्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै मल्लले नीति, व्यवहार र परिणाममार्फत परिवर्तन देखाउने आफ्नो लक्ष्य रहेको स्पष्ट पारे।
हाल रास्वपाप्रति जनताको आशा र विश्वास बढिरहेको उल्लेख गर्दै उनले त्यस विश्वासलाई काममार्फत न्याय गर्न आफू प्रतिबद्ध रहेको बताए ।
