


दमौली, ४ फागुन । नेपाली काङ्ग्रेसका तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले पार्टी एकताबद्ध भएर लागे मात्रै सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन सकिने बताएका छन्।
सोमबार दमौलीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले काङ्ग्रेसलाई बहुमत दिलाउन तनहुँ–१ बाटै सशक्त सन्देश दिनुपर्ने बताए। “सभापति गगन थापालाई प्रधानमन्त्री बनाउन काङ्ग्रेसले जित्नैपर्छ,” उनले भने, “त्यसका लागि सबै कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्ने समय आएको छ।”
भट्टराईले आफ्नो चुनावी एजेण्डाअन्तर्गत ‘पाँच वर्ष, पाँच पालिका र ५५ प्रतिबद्धता’ सार्वजनिक गरेको जानकारी दिँदै विकास र समृद्धिका स्पष्ट योजनासहित आफू मतदातामाझ गएको बताए। उनले पाँच वर्षभित्र क्षेत्रका पाँचवटै पालिकामा देखिने गरी विकासका काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
“नेपाली काङ्ग्रेसको माहोल राम्रो छ, जनताको साथ र समर्थन उत्साहजनक छ,” उनले भने, “अब यसलाई मतमा परिणत गर्न हामी दिनरात खट्नुपर्छ।”
उम्मेदवार भट्टराईले कार्यकर्तालाई घरदैलो अभियानलाई तीव्र बनाउन र मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउन आग्रह गर्दै पार्टीलाई जिताउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताए।
