मन्जिल राना भन्छन् – मतदाताले विकल्प खोजेका छन्, त्यो विकल्प उज्यालो नेपाल पार्टी हो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्जिल राना भन्छन् – मतदाताले विकल्प खोजेका छन्, त्यो विकल्प उज्यालो नेपाल पार्टी हो

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०८२, बुधबार

    दमौली, ६ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार मन्जिल रानाले मतदाताले अब स्पष्ट विकल्प खोजिरहेको बताउँदै त्यो विकल्प उज्यालो नेपाल पार्टी भएको बताएका छन् । उनले भनेका छन्, “पुराना शैली र दोहोरिँदो राजनीतिबाट जनता दिक्क भएका छन्। अब परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व आवश्यक छ। त्यो विकल्प उज्यालो नेपाल पार्टी हो।”

    चुनावी मैदानमा उत्रिएका रानाले घरदैलो अभियानलाई तीव्र बनाउँदै गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनका अनुसार मतदाताले रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरिरहेका छन्।

    रानाले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन, युवालाई स्वदेशमै अवसर सिर्जना, कृषिमा आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा साना तथा मझौला व्यवसायलाई सहुलियतपूर्ण नीति ल्याउने योजना अघि सारेका छन्। “तनहुँलाई आर्थिक, सामाजिक र पूर्वाधार विकासको नमूना क्षेत्र बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ,” उनले भने।

    उनले ऊर्जा क्षेत्रको सुधारको उदाहरण दिँदै कुलमान घिसिङले अन्धकारमा डुबेको मुलुकलाई उज्यालो बनाएको प्रसंग उल्लेख गरे । “दूरदर्शी नेतृत्व र दृढ इच्छाशक्ति भए असम्भव केही हुँदैन भन्ने कुरा कुलमानजीले देखाउनुभएको छ। अब त्यही सोच र प्रतिबद्धतासहित देशलाई समृद्धिको उज्यालोतर्फ लैजानुपर्छ,” रानाले भने ।

    घरदैलो अभियानका क्रममा स्थानीयवासीसँग सुझाव संकलन, समस्याको पहिचान र सम्भावित समाधानबारे प्रत्यक्ष छलफल भइरहेको रानाको भनाइ छ। उनले “बोल्ने होइन, गरेर देखाउने राजनीति” आवश्यक रहेको बताउँदै मतदातालाई परिवर्तनका लागि सहयोग गर्न आह्वान गरेका छन् ।