छ वटा टोलीमार्फत घरदैलोमा उज्यालो नेपाल पार्टी, तनहुँ–१ मा मन्जिल रानाको प्रचार तीव्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छ वटा टोलीमार्फत घरदैलोमा उज्यालो नेपाल पार्टी, तनहुँ–१ मा मन्जिल रानाको प्रचार तीव्र

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०८२, बिहीबार

    दमौली, १४ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार मन्जिल रानाको नेतृत्वमा युवाहरू अविरल रूपमा चुनावी प्रचार–प्रसारमा खटिएका छन्। निर्वाचन नजिकिँदै जाँदा पार्टीले प्रचार अभियानलाई तीव्र र व्यवस्थित बनाउँदै नयाँ रणनीतिसहित मैदानमा उत्रिएको हो।

    पार्टीले ६ वटा टोली गठन गरी क्षेत्रका विभिन्न वडाहरूमा एकसाथ घरदैलो, कोणसभा तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। प्रत्येक टोलीमा युवाहरूको सक्रिय सहभागिता रहेको छ भने स्थानीय मुद्दा, विकासका प्राथमिकता र युवाकेन्द्रित एजेन्डा लिएर मतदातामाझ पुग्ने काम भइरहेको छ।

    उम्मेदवार रानाले परम्परागत शैलीभन्दा फरक ढंगले अभियान अघि बढाइएको दाबी गर्दै भने, “हामी केवल नारामा सीमित छैनौँ, प्रत्यक्ष भेटघाटमार्फत जनताको सुझाव संकलन गरिरहेका छौँ। यही सहभागितामूलक अभियानले विश्वास जित्ने आधार तयार गरेको छ।”

    उनका अनुसार एउटै स्थानमा ठूलो सभा गर्नेभन्दा विभिन्न स्थानमा स–साना समूहमा पुगेर प्रत्यक्ष संवाद गर्नु प्रभावकारी देखिएको छ। टोलीहरू बिहानदेखि साँझसम्म गाउँ–टोलमा पुगेर स्थानीय समस्या सुन्ने र समाधानका योजना प्रस्तुत गर्ने कार्यमा केन्द्रित छन्।

    विशेषगरी युवाहरूको उल्लेखनीय उपस्थितिले अभियानमा ऊर्जा थपिएको उनले बताए । रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउँदै उज्यालो नेपाल पार्टीले तनहुँ–१ मा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।

    चुनावी माहोल तातेका बेला ६ वटा टोलीमार्फत सञ्चालन भइरहेको यो रणनीतिले मतदातासँगको पहुँच विस्तार गरेको र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गरिएको छ। आगामी दिनमा थप कार्यक्रमसहित अभियानलाई अझ व्यापक बनाइने उम्मेदवार रानाको भनाइ छ।