


दमौली, १४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तनहुँमा मदिरा विक्री वितरण निषेध गरिएको छ । फागुन १५ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा विक्री वितरण निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए।
तनहुँ जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थहरुको विक्री वितरण र सेवनलाई पूर्ण रुपमा निषेध गरिएको तिवारीले बताए। कार्यालयले उक्त निर्णय उल्लङ्घन गरी मदिरा विक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने जनाएको छ । साथै सुरक्षा निकायबाट यसको कडाइका साथ अनुगमन गरिने तिवारीले बताए ।
निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि चालिएको कदममा जिल्लामा अवस्थित सबै होटल, व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणबाट सहयोगको अपेक्षा गरिएको छ ।