


दमौली, २८ फागुन । तनहुँ-२ का नवनिर्वाचित सांसद श्रीराम न्यौपानेले तनहुँ–२ का सबै पालिकामा हरेक तीन महिनामा जनसंवाद कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं पुगेका न्यौपानेले सामाजिक सञ्जालमार्फत तनहुँ–२ का जनताले दिएको विश्वासलाई सम्मान गर्दै नियमित रूपमा जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम ल्याउने बताएका हुन्।
उनले ऋषिङ, घिरिङ, भिमाद, शुक्लागण्डकी, म्याग्दे र व्यास नगरपालिकाका विभिन्न स्थानमा करिब ६० वटा सामूहिक भेटघाट तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन्। ती कार्यक्रममा कतै पञ्चेबाजाको गुञ्जन, कतै केक काटेर उत्सव तथा कतै कुमाल संस्कृतिको बाजागाजा र नाचगानसहित स्वागत गरिएको उनले उल्लेख गरेका छन्।
तनहुँ–२ का मतदाताले दिएको ३२ हजार ६ सय ८७ मतसहितको समर्थनप्रति आभार व्यक्त गर्दै न्यौपानेले यो जित केवल उत्सव नभई परिवर्तनको जिम्मेवारी भएको बताएका छन्।
उनले हरेक तीन महिनामा पालिकास्तरमा जनसंवाद कार्यक्रम सञ्चालन गरी जनताका गुनासा, सुझाव र समस्या प्रत्यक्ष सुन्ने तथा आफू र सरकारले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्ने बताए।
साथै सांसदका रूपमा आफूले पाउने सम्पूर्ण नगद रकम हरेक तीन महिनामा तनहुँ–२ का जनतामाझ पारदर्शी रूपमा फिर्ता गर्ने योजना पनि ल्याउने उनको भनाइ छ। उक्त रकम विद्यालय, बालबालिका, असहाय तथा अपाङ्ग नागरिकको हितमा खर्च गरिने उनले उल्लेख गरेका छन्।
न्यौपानेले जनताको समस्या समाधानका लागि व्यक्तिगत पहल गर्ने, तीनै तहका सरकारसँग समन्वय गर्ने र आवश्यक परे संसदमा बुलन्द आवाज उठाउने प्रतिबद्धता समेत जनाएका छन्।
उनले आफ्नो यात्रा सत्ता प्राप्तिका लागि नभई सेवा र उत्तरदायित्वका लागि भएको उल्लेख गर्दै तनहुँ–२ को विकास, सुशासन र न्यायका लागि सक्रिय रूपमा काम गर्ने बताए।