


दमौली, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता बासु पन्तले अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई पाँचै वर्षसम्म अर्थमन्त्रीको जिम्मेवारी दिनुपर्ने बताएका छन्। रामकोटस्थित “घुमाउने घर” बाट सार्वजनिक सन्देश जारी गर्दै उनले बलियो जनमतलाई स्थिर शासन र आर्थिक सुधारमा रूपान्तरण गर्न यस्तो निर्णय आवश्यक हुने उल्लेख गरे।
पन्तले नेपालको राजनीतिक इतिहास स्मरण गराउँदै विगतमा प्राप्त बहुमत सरकारहरू आन्तरिक द्वन्द्व र अस्थिरताका कारण लामो समय टिक्न नसकेको टिप्पणी गरे। २०१५ सालमा दुईतिहाइ बहुमतसहित सरकार गठन गरेका बीपी कोइरालाको सरकार १७ महिनामै अन्त्य भएको, २०४६ सालपछि बहुमत पाए पनि नेपाली कांग्रेस आन्तरिक कलहमा फसेको तथा २०६२/६३ को जनआन्दोलनपछि ठूलो दल बनेको माओवादी पनि अपेक्षाअनुसार काम गर्न नसकेको उदाहरण उनले दिए।
उनका अनुसार प्रमुख दलहरू लामो समय “राजनीतिक गोलचक्कर” मा फस्दा जनतामा चरम असन्तुष्टि बढेको थियो। भदौ २३ र २४ गते भएको जनविद्रोहले देशलाई निकास चाहिएको स्पष्ट सन्देश दिएको उनको दाबी छ।
निर्वाचन प्रचारका क्रममा रामकोट पुगेका बेला डा. वाग्लेले रास्वपाले सुविधाजनक बहुमत—१५१ सिट—ल्याउने दाबी गरेको उल्लेख गर्दै पन्तले अन्ततः जनताले शक्तिशाली सरकार बनाउन सक्ने जनादेश दिएको बताए। उनले उक्त जनमत “बालेनलाई प्रधानमन्त्री बनाउने पार्टी निर्णय” सँग जोडिएको पनि दाबी गरे।
पन्तले अबको प्रमुख कार्यदिशा स्थिर सरकार सुनिश्चित गर्नु भएको बताउँदै भने, “इतिहासबाट पाठ सिक्दै कुनै राजनीतिक गोलचक्करमा नफसी पाँच वर्षसम्म बालेन सरकारलाई एकलौटी रूपमा काम गर्न दिनुपर्छ।”
उनले सरकारको आर्थिक आधार सबल बनाउन अर्थ मन्त्रालयको नेतृत्व अत्यन्त महत्वपूर्ण हुने भन्दै डा. स्वर्णिम वाग्लेलाई निरन्तर जिम्मेवारी दिनुपर्नेमा जोड दिए। “आर्थिक पुनर्निर्माण र सुशासनका लागि अनुभवी अर्थशास्त्रीको स्थिर नेतृत्व अपरिहार्य छ,” उनले उल्लेख गरे।
