


दमौली, १ चैत । नेपाल भ्रमणका क्रममा रहेका एक बेलायती युवाले तनहुँको एक विद्यालयका विद्यार्थीलाई सहयोग गरेका छन्।इङ्गल्याण्ड निवासी ली ख्ये ओङले व्यास नगरपालिका–७ नरङ्गामा सञ्चालित व्यास नगर समता आवासीय विद्यालयका अभिभावकविहीन बालबालिकालाई सहयोग गरेका हुन्।
उनले आइतबार विद्यालयमै पुगेर विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका हुन्।उक्त विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिकाको पठनपाठन तथा खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यले ती सहयोग सामग्री प्रदान गरेको उनले बताए।
उनले बीस हजार रुपैयाँ मूल्य बराबरका सामग्री सहयोग गरेका छन्, जसमा कापी, क्यारम बोर्ड, ब्याडमिन्टन, चेस, लुडो, टेबल टेनिस लगायतका सामग्री छन्।
पत्रकार प्रदीप काफ्लेको पहलमा आएका ओङले सहयोग सामग्रीहरू हस्तान्तरण गर्दै अनाथ बालबालिका रहेको विद्यालयमा आएर उनीहरूलाई सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।
उक्त अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले बालबालिकाको शैक्षिक तथा खेलकुद स्तरलाई मजबुत बनाउन उक्त सामग्रीहरू सहयोगी सिद्ध हुने बताए। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षकहरू, प्रधानाध्यापक लगायत सबैको उपस्थिति थियो।
