


काठमाडौ, ५ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापा टले सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीभित्र एकता मजबुत बनाउने अवसर सिर्जना गरेको बताएका छन्।
उनले उक्त निर्णयलाई कुनै व्यक्तिको जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गरे। सभापति थापाले पार्टीका सबै सदस्य तथा शुभेच्छुकहरूलाई जहाँ रहे पनि जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
उनले पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो रहेको उल्लेख गर्दै त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए।
त्यस्तै, नेपाली कांग्रेस को पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै उनले महाधिवेशनलाई सफल बनाउँदै पार्टीलाई रूपान्तरण र सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
सभापति थापाले अग्रज नेताहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिने पार्टी बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।