तनहुँमा प्रहरीको ‘सर्च एण्ड स्विप’ अभियान, पाँच शंकास्पद व्यक्ति नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा प्रहरीको ‘सर्च एण्ड स्विप’ अभियान, पाँच शंकास्पद व्यक्ति नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८३, शनिबार

    दमौली १३ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘सर्च एण्ड स्विप’ अभियानका क्रममा पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    शुक्रबार लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग नियन्त्रणलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरिएको थियो।

    अभियानका क्रममा विभिन्न स्थानबाट पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अनुसन्धानका क्रममा उनीहरूबाट कुनै आपराधिक गतिविधिमा संलग्न रहेको प्रमाण नदेखिएपछि पाँचै जनालाई आफन्तको जिम्मा लगाई छाडिएको प्रहरीले जनाएको छ।

    प्रहरीले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न यस्ता विशेष अभियानलाई निरन्तरता दिइने जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले शंकास्पद गतिविधि, अवैध कारोबार वा कुनै पनि आपराधिक घटनाबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपतकालीन सेवामा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले नागरिकको सहयोगबाट अपराध नियन्त्रण तथा शान्तिसुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेको छ।