


दमौली १३ असार । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।
शनिबार बिहान ४ बजेदेखि पोखरा–मुग्लिन सडक खण्डमा सञ्चालन गरिएको अभियानअन्तर्गत विभिन्न सवारी साधनका चालकलाई सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरिएको हो।
प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार चालकहरूलाई सडकको अवस्था, लेन अनुशासनको पालना, सुरक्षित गति, ट्राफिक नियमको पूर्ण पालना तथा यात्रु सुरक्षासम्बन्धी विषयमा सम्झाइबुझाइ गरिएको थियो। विशेषगरी पृथ्वी राजमार्गअन्तर्गत पर्ने पोखरा–मुग्लिन सडक खण्डमा बढ्दो सवारी चाप र दुर्घटनाका घटनालाई ध्यानमा राख्दै बिहानैदेखि अभियान सञ्चालन गरिएको जनाइएको छ।
सचेतना कार्यक्रममा दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ठूला सवारी साधनका चालकलाई लक्षित गरिएको थियो। अभियानका क्रममा २१ वटा दुई पाङ्ग्रे सवारी साधन, ७५ वटा चार पाङ्ग्रे साना सवारी साधन तथा ४५ वटा ठूला सवारी साधनका चालकलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी गराइएको प्रहरीले जनाएको छ।
प्रहरीले चालकको लापरवाही, तीव्र गति, लेन मिच्ने प्रवृत्ति, ओभरटेक गर्दा अपनाउनुपर्ने सावधानी तथा थकानका अवस्थामा सवारी सञ्चालन नगर्न विशेष आग्रह गरेको छ। साथै यात्राको क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्न र सडक सुरक्षालाई प्राथमिकतामा राख्न चालकलाई अनुरोध गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको वातावरण निर्माणका लागि यस्ता सचेतनामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ। प्रहरीका अनुसार ट्राफिक नियमको प्रभावकारी पालना र चालकको सचेतनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।