तनहुँमा सर्च एण्ड स्विप अभियान : २६ शंकास्पद व्यक्ति नियन्त्रणमा, अनुसन्धानपछि सबै आफन्तको जिम्मा लगाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सर्च एण्ड स्विप अभियान : २६ शंकास्पद व्यक्ति नियन्त्रणमा, अनुसन्धानपछि सबै आफन्तको जिम्मा लगाइयो

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८३, आईतवार

    दमौली, १४ असार । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले शनिबार सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसन अन्तर्गत २६ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

    लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने, फरार प्रतिवादी पक्राउ गर्ने, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत दोहन रोक्ने उद्देश्यले सञ्चालन गरिएको अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै २६ जनामाथि आवश्यक सोधपुछ तथा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा कुनै आपराधिक संलग्नता पुष्टि नभएपछि उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले शान्ति सुरक्षा कायम गर्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि यस्ता सर्च एण्ड स्विप अभियान नियमित रूपमा सञ्चालन भइरहेको बताए।

    उनले भने, जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउन, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले सर्च एण्ड स्विप अभियान निरन्तर सञ्चालन गर्दै आएका छौं। नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान गरिन्छ। कुनै आपराधिक संलग्नता नदेखिएमा कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाएर छाड्ने गरिएको छ। आगामी दिनमा पनि यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइनेछ।”

    प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानमा नागरिकको सहयोग र समन्वय आवश्यक रहेको भन्दै कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।