


दमौली, १४ असार । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालका चिकित्सकमाथि उपचारकै क्रममा अभद्र व्यवहार तथा हातपात भएको भन्दै अस्पतालका कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन्।
अस्पतालका अनुसार न्यून कर्मचारी संख्याका बीच पनि अत्यधिक बिरामीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको अवस्थामा गत असार १२ गते शुक्रबार अपराह्न करिब ४:३० बजे आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा भारतीय नम्बर प्लेटको सवारी साधनको ठक्करबाट घाइते भएका बालबालिकालाई उपचारका लागि अस्पताल ल्याइएको थियो।
उक्त घटनामा एक घाइते बालकलाई अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि चितवन रिफर गरिएको थियो भने अर्का घाइतेका लागि मुग्लिनबाट एम्बुलेन्स बोलाई थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको समयमा ड्युटीमा रहेका चिकित्सकमाथि केही व्यक्तिले अभद्र व्यवहार गर्दै अपशब्द प्रयोग गरेको अस्पतालको दावी छ।
उक्त घटनाले अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको र सेवा प्रवाहको वातावरणसमेत प्रभावित भएको अस्पतालको भनाइ छ।
अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न तथा स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग माग गरेको छ। साथै, सुरक्षा र न्यायको प्रत्याभूति नभएसम्म असार १४ गतेदेखि अत्यावश्यक सेवाबाहेकका अन्य स्वास्थ्य सेवा सञ्चालन गर्न कर्मचारीहरू असमर्थ रहने चेतावनीसमेत दिएको छ।