दमौलीको सिद्धार्थ होटललाई ‘अति उत्तम’ हरियो स्टीकर प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीको सिद्धार्थ होटललाई ‘अति उत्तम’ हरियो स्टीकर प्रदान

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८३, आईतवार

    दमाैली १४ असार । दमौलीस्थित सिद्धार्थ होटलले खाद्य स्वच्छता तथा गुणस्तरका मापदण्डहरू उत्कृष्ट रूपमा पालना गरेको प्रमाणस्वरूप ‘अति उत्तम’ (हरियो) स्टीकर प्राप्त गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीको अनुगमन टोलीले होटलको स्थलगत निरीक्षण तथा मूल्यांकनपछि आवश्यक सबै मापदण्ड पूरा गरेको निष्कर्ष निकाल्दै उक्त स्टीकर प्रदान गरेको हो।

    खाद्य व्यवसायहरूलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउन सञ्चालन गरिएको खाद्य स्वच्छता मूल्यांकन कार्यक्रम अन्तर्गत होटलको भान्सा, खाद्य सामग्री भण्डारण कक्ष, सरसफाइको अवस्था, कर्मचारीको व्यक्तिगत स्वच्छता, खाद्य पदार्थको गुणस्तर, सेवा प्रवाह तथा उपभोक्ता सुरक्षासम्बन्धी विभिन्न पक्षहरूको विस्तृत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा होटलले खाद्य सुरक्षा तथा सरसफाइका अधिकांश सूचकहरूमा उत्कृष्ट अंक प्राप्त गरेपछि ‘अति उत्तम’ श्रेणीमा वर्गीकरण गरिएको कार्यालय प्रमुख ज्याेति आचार्यले जानकारी दिए ।

    होटललाई प्रदान गरिएको हरियो स्टीकरले सम्बन्धित व्यवसायले खाद्य स्वच्छता तथा गुणस्तरका उच्च मापदण्ड पूरा गरेको संकेत गर्ने गर्दछ। यसले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा प्राप्त हुने विश्वास दिलाउनुका साथै अन्य होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई पनि सरसफाइ र गुणस्तर कायम गर्न प्रेरित गर्ने अपेक्षा गरिएको उनले बताए।

    अनुगमनका क्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योति आचार्यसहितको टोली सहभागी भएको थियो। टोलीले होटलको विभिन्न पक्षको अवलोकन गर्दै खाद्य स्वच्छता कायम राख्न आवश्यक सुझावसमेत दिएको थियो।

    व्यास नगरपालिकाका प्रमुख न्यौपानेले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य व्यवसायहरूमा स्वच्छता र गुणस्तरलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। उनले नगरभित्र सञ्चालित होटल, रेष्टुरेन्ट तथा खाद्य व्यवसायहरूलाई आवश्यक मापदण्ड पालना गरी सुरक्षित खाद्य सेवा प्रदान गर्न आग्रह गर्दै यस्ता अनुगमनलाई निरन्तरता दिइने जानकारी दिए।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख आचार्यले खाद्य व्यवसायहरूको नियमित अनुगमन तथा मूल्यांकन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै खाद्य सुरक्षा सुनिश्चित गर्न व्यवसायी र नियामक निकायबीच सहकार्य आवश्यक रहेको बताए।

    सिद्धार्थ होटल व्यवस्थापनले प्राप्त उपलब्धिलाई थप जिम्मेवारीका रूपमा लिँदै आगामी दिनमा पनि खाद्य स्वच्छता, गुणस्तर र सेवाको स्तरलाई अझ उच्च बनाउने प्रतिबद्धता जनाएको छ। होटलले उपभोक्ताको स्वास्थ्य र सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा प्रवाह गरिरहेको बताउँदै यस्ता मूल्यांकनले व्यवसायलाई थप जिम्मेवार र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    खाद्य स्वच्छता तथा गुणस्तरको क्षेत्रमा प्राप्त ‘अति उत्तम’ हरियो स्टीकरले सिद्धार्थ होटललाई जिल्लाकै नमुना खाद्य व्यवसायका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै यसले दमौली क्षेत्रका अन्य होटल तथा रेष्टुरेन्टहरूलाई पनि खाद्य सुरक्षा र सरसफाइका मापदण्ड पालनामा थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।