मुग्लिङ–पोखरा सडकखण्डमा दुर्घटना न्यूनीकरण अभियान : ३ घण्टामै १०९ सवारी चालकलाई सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिङ–पोखरा सडकखण्डमा दुर्घटना न्यूनीकरण अभियान : ३ घण्टामै १०९ सवारी चालकलाई सचेतना

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८३, सोमबार

    दमौली, १५ असार । मुग्लिङ–पोखरा सडकखण्डमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा सचेतना अभियान सञ्चालन गरेको छ चालक सचेतना अभियान अन्तर्गत आइतबार बिहान ४ बजेदेखि ७ बजेसम्म १०९ जना सवारी चालकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ।

    अभियानका क्रममा दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ठूला सवारीसाधनका चालकलाई सडकको वर्तमान अवस्था, वर्षायामका कारण अपनाउनुपर्ने सावधानी, मौसमको प्रभाव, लेन अनुशासन, सुरक्षित गति, ओभरटेक गर्दा अपनाउनुपर्ने सतर्कता तथा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको थियो।

    प्रहरीका अनुसार बिहान ७ बजेसम्म २५ वटा दुई पाङ्ग्रे, ४१ वटा चार पाङ्ग्रे साना सवारी तथा ४३ वटा ठूला सवारीसाधनका चालकलाई सचेतनामूलक जानकारी दिइएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले वर्षायाममा सडक चिप्लो हुने, दृश्यता कम हुने तथा पहिरो र ढुङ्गा खस्ने जोखिम बढ्ने भएकाले चालकहरूले विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताए। उनले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना, निर्धारित गति कायम राख्ने, लेन अनुशासनमा सवारी चलाउने र जोखिमयुक्त स्थानमा अतिरिक्त सावधानी अपनाउन आग्रह गरे ।

    प्रनाउ घिमिरेले चालकमा सुरक्षित यात्राको संस्कार विकास गर्ने उद्देश्यले यस्तो सचेतना कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै दुर्घटनामुक्त यात्राका लागि चालक, यात्रु तथा सबै सरोकारवालाको समान जिम्मेवारी रहने बताए ।