


दमौली, १५असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले व्यास नगरपालिकाभित्र सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरूको स्तरीकरण गरेको छ । कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तरका आधारमा होटलको स्तरीकरण गरेको हो ।
कार्यालयले १८ वटा होटल तथा रेष्टुरेण्टको अनुगमन गरेकामा १३ वटा होटल स्तरीकरण भएका छन् । पाँच वटा होटलले मापदण्ड पूरा गर्न नसकेको कार्यालय प्रमुख ज्योति आचार्यले जानकारी दिए ।
स्तरीकरणका लागि होटल तथा रेष्टुरेण्टको भान्साको सरसफाइ, खाद्य सामग्रीको सुरक्षित भण्डारण, व्यक्तिगत सरसफाइ, खानेपानीको अवस्था, फोहोर व्यवस्थापन, सेवा प्रवाह, खाद्य सुरक्षा मापदण्डको पालना, अभिलेख व्यवस्थापन तथा समग्र सञ्चालन अवस्थाको मूल्याङ्कन गरिएको थियो ।
मूल्याङ्कनमा दमौलीस्थित सिद्धार्थ होटलले ‘अति उत्तम (३ स्टार)’ स्तर प्राप्त गरेको छ । खाद्य स्वच्छता तथा सेवा गुणस्तरका अधिकांश सूचकमा उत्कृष्ट अङ्क हासिल गरेपछि होटल सिद्धार्थलाई अति उत्तम स्टीकर प्रदान गरिएको छ ।
त्यस्तै मध्यम (एक स्टार) मा व्यास नगरपालिका–५ स्थित मानुङकोट रिसोर्ट, दुना टपरी रेष्टुरेण्ट, व्यास नगरपालिका–१२ स्थित हाइवे ब्रेक इभी प्वाइन्ट, कैनी भिल्ला क्याफे एण्ड रेष्टुरेण्ट, होटल हाइवे किङ, बबिना होटल एण्ड रेष्टुरेण्ट, ए वान क्याफे र व्यास नगरपालिका–४ स्थित पिस प्याराडाइज स्तरीकरण भएको छ ।
यसैगरी सामान्यमा व्यास नगरपालिका–५ स्थित ग्रिनहिल रेष्टुरेण्ट, होटल ड्रागन, व्यास नगरपालिका–१२ कन्टेनर कफी हब र रइस क्याफे एण्ड रेष्ट्रो स्तरीकरण भएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख आचार्यले खाद्य व्यवसायलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउने उद्देश्यले नियमित रूपमा स्तरीकरण तथा अनुगमन अभियान सञ्चालन भइरहेको बताए । उनका अनुसार स्तरीकरण प्रणालीले व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै उपभोक्ताले सुरक्षित र गुणस्तरीय खाद्य सेवा छनोट गर्न सहज हुने विश्वास लिइएको छ ।
उनले स्तरीकरणमा अपेक्षाभन्दा कम अङ्क प्राप्त गरेका होटललाई सुधारका लागि आवश्यक सुझावसमेत दिइएको र तोकिएका मापदण्ड कार्यान्वयन गरेपछि पुनः मूल्याङ्कनको व्यवस्था गरिने जानकारी दिए । खाद्य स्वच्छतामा कुनै पनि किसिमको लापरबाही नगर्न र कानुनी मापदण्ड पूर्ण रूपमा पालना गर्न उहाँले सबै होटल तथा रेष्टुरेन्ट सञ्चालकलाई आग्रह गरे ।