


दमौली, १७ असार । लगातार परेको अविरल वर्षाका कारण तनहुँको बन्दीपुर गाउँपालिका–२ तार्केमा एक घरमा क्षति पुगेको छ । वर्षाका कारण स्थानीय ७५ वर्षीय बेलबहादुर केसीको एकतले कच्ची घरको पश्चिम र दक्षिणतर्फको भाग भत्किएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक निरीक्षणका क्रममा घरमा आंशिक क्षति पुगेको भए पनि कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
मङ्गलबार रातिदेखि परेको लगातार वर्षाका कारण घरको संरचना कमजोर भई भत्किएको हो । प्रनाउ घिमिरेले वर्षायाममा पहाडी तथा ग्रामीण क्षेत्रमा यस्ता घटना हुन सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरे ।