


दमौली, १७ असार । ४ दिनदेखि सम्पर्कविहीन २८ वर्षकी सन्तोषी श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको टोलीले उनको खोजी सुरु गरेको हो ।
तनहुँको बन्दिपुर गाउँपालिका ४ घर भएकी सन्तोषी हाल पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका २ मा डेरा गरी बस्दै आएकी थिइन् । उनी भरतपुरको नर्सिङ अस्पतालमा अध्ययनरत छात्रा हुन् । सन्तोषी असार १४ गतेदेखि सम्पर्कविहीन भएकी थिइन् ।
उनले चलाएको स्कुटर चितवनको भरतपुर महानगरपालिका १ स्थित देवघाटमा फेला परेको छ । स्कुटर फेला परेपछि सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा गोताखोरसहितको टोली परिचालित भएको हो । टोलीले देवघाट र आसपासका क्षेत्रमा खोजी गरिरहेको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले घटनाबारे जानकारी दिएका छन् । ‘स्कुटर फेला परेको सूचना पाएपछि सशस्त्र प्रहरीको विशेष टोली खोजीमा जुटेको छ,’ उनले भने । सन्तोषीका परिवार र आफन्तले उनको खोजीका लागि आग्रह गरेका छन् । प्रहरीले सम्भावित सबै स्थानमा खोजी कार्य जारी राखेको छ ।