


दमाैली १८ असार । ऋषिङ गाउँपालिकामा निर्माणाधीन दुबुङ सडक आयोजनामा लागत अनुमानभन्दा फरक ढंगले निर्माण कार्य गरिएको भेटिएको छ। सम्झौतामा उल्लेख गरिएको डिजाइन, स्थान र मापदण्डअनुसार काम नगरी भेरिएसन आदेश तथा पूर्वस्वीकृतिबिनै संरचना निर्माण गरिएको भन्दै १८ लाख ७ हजार ९८८ रुपैयाँको भुक्तानीमाथि प्रश्न उठेको छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार गाउँपालिकाले दुबुङ सडक निर्माणका लागि जिटा इन्जिनियरिङ एण्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग ९५ लाख ८९ हजार ५६१ रुपैयाँ ७२ पैसामा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८२ असार १४ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि निर्धारित समयमा काम पूरा हुन नसकेपछि म्याद २०८२ चैत १५ गतेसम्म थप गरिएको थियो।
प्रतिवेदनमा सडक निर्माणअन्तर्गत नाला निर्माण, प्लम वाल, ड्राइ स्टोन म्यास्नरी तथा स्टोन सोलिङ जस्ता संरचनाहरू लागत अनुमान र स्वीकृत डिजाइनभन्दा फरक स्थान, लम्बाइ तथा उचाइमा निर्माण गरिएको उल्लेख छ। निर्माणको क्रममा आवश्यक प्राविधिक स्वीकृति र भेरिएसन आदेश नलिई सम्झौताभन्दा फरक ढंगले काम गरिएको पाइएको हो।
महालेखाका अनुसार प्रारम्भिक डिजाइनमा दुई मिटर उचाइको प्लम वाल निर्माण गर्ने व्यवस्था रहे पनि वास्तविक निर्माणमा त्यसलाई घटाएर १.२४ मिटर मात्र बनाइएको छ। त्यसैगरी केही स्थानमा नालाको लम्बाइ बढाइएको तथा अन्य संरचनासमेत स्वीकृत डिजाइनभन्दा फरक तरिकाले निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ।
सार्वजनिक निर्माणसम्बन्धी प्रचलित व्यवस्थाअनुसार निर्माणको क्रममा परिस्थितिवश संरचनाको स्थान वा डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएमा सम्बन्धित कार्यालय र प्राविधिकको स्वीकृतिमा भेरिएसन आदेश जारी गरेर मात्र निर्माण गर्नुपर्ने व्यवस्था छ। तर उक्त आयोजनामा यस्तो प्रक्रिया अवलम्बन नगरी निर्माण कार्य गरिएको महालेखाको ठहर छ।
महालेखा परीक्षकको कार्यालयले भेरिएसन आदेश र आवश्यक प्राविधिक पुष्ट्याइबिना गरिएको निर्माण कार्यको १८ लाख ७ हजार ९८८ रुपैयाँ बराबरको भुक्तानी नियमसम्मत नदेखिएको जनाएको छ। प्रतिवेदनमा तोकिएको मापदण्डअनुसारको काम भएको प्राविधिक आधार प्रस्तुत गरी आवश्यक भेरिएसन आदेश स्वीकृत गरेर मात्र उक्त रकम नियमित गर्नुपर्ने उल्लेख गरिएको छ।
