


दमौली, १९ असार । व्यास नगरपालिका–१ भादगाउँस्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदमा मात्रै मतदान हुने भएको छ । पदाधिकारी लगायत सदस्य पदमा निर्विरोध निर्वाचित भएसँगै शुक्रबार मतदानको तयारी गरिएको छ ।
अध्यक्ष पदमा रामकुमार गोशली र सन्त तामाङको उम्मेदवारी परेको छ । निर्वाचन समितिले सूचना जारी गरी शुक्रबार २ बजेभित्र दरै समाजको भवनमा मतदानका लागि उपस्थित हुन टोलगत प्रतिनिधिलाई आग्रह गरेको छ ।
संस्थाको उपाध्यक्षमा राजेश्वर हड्खले, सचिवमा विष्णुबहादुर बस्नेत, कोषाध्यक्षमा सहवीर उच्चै, र सहसचिवमा शान्ता खवास निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सुरेन्द्र दरै, चन्द्रीदेवी तिवारी श्रेष्ठ, दिपा आचार्य, अप्सरा रानाभाट, श्रीभद्र कंडेल, सञ्जय गुरुङ, गङ्गाप्रसाद पोख्रेल र सोमनाथ पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक केशव भट्टराईले जानकारी दिए ।