


दमौली, २१ असार। संघीय सरकारका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा लापरवाही गर्ने जनप्रतिनिधि र मन्त्रीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।
आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री लम्सालले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।
उनले भने, “यदि कुनै मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो वा सेवा प्रवाहमा लापरवाही गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौँ। प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने उहाँमाथि पनि कानुनअनुसार कारबाही हुन्छ।”
मन्त्री लम्सालले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए। उनले जनप्रतिनिधि र सरकारी अधिकारीहरूले जनताको विश्वास कायम राख्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गरे।