


दमाैली २५ असार । ऋषिङ गाउँपालिकाले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत कार्यस्थल सुरक्षा सामग्री खरिदका लागि विनियोजित बजेटबाट औजार खरिद गरेको भन्दै रु १ लाख ९९ हजार ९६४ खर्च अनियमित ठहर गरिएको छ।
लेखापरीक्षण प्रतिवेदनअनुसार कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७६ मा आयोजनाको कुल अनुमानित लागतको अधिकतम दुई प्रतिशत रकम मात्र श्रमिकका लागि आवश्यक कार्यस्थल सुरक्षा सामग्री खरिदमा खर्च गर्नुपर्ने व्यवस्था छ। साथै, प्राविधिकले आयोजनामा काम गर्दा हुने जोखिम उल्लेख गर्दै आवश्यक सुरक्षा सामग्री सिफारिस गरेपछि मात्र ती सामग्री खरिद गर्नुपर्ने उल्लेख छ।
तर गाउँपालिकाले चालु आर्थिक वर्षमा ज्याकेट, हेल्मेट, पञ्जा र बुटसहित ४० सेट सुरक्षा सामग्रीका साथै ३२ थान बेल्चा, ४ थान गल, ८ थान पाँच केजीका घन, ४८ मिटर डोरी, ८ थान गैती र ८ थान ठेला खरिद गरी २०८२ असार १ गतेको भौचर नम्बर १३५ मार्फत रु. १ लाख ९९ हजार ९६४ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले सुरक्षा सामग्री खरिदका लागि छुट्याइएको बजेटबाट बेल्चा, गल, घन, गैती र ठेलालगायतका औजार खरिद गर्नु नियमसम्मत नभएको औँल्याएको छ। साथै, सुरक्षा सामग्री खरिदअघि प्राविधिकबाट आयोजनास्थलको जोखिम मूल्याङ्कन गरी आवश्यक सामग्रीको सिफारिससमेत गरिएको नपाइएको उल्लेख गरिएको छ।
त्यस्तै खरिद गरिएका सुरक्षा सामग्री सम्बन्धित आयोजनामा खटिएका श्रमिकलाई वितरण नगरी वडा अध्यक्षहरूलाई हस्तान्तरण गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।
गाउँपालिकामा यस आर्थिक वर्ष रोजगारीका लागि ७० जना श्रमिक छनोट भई काममा खटिएको भए पनि खरिद गरिएका ४० सेट सुरक्षा सामग्री कुन-कुन आयोजनामा खटिएका श्रमिकलाई वितरण गरिएको हो भन्ने यकिन विवरण उपलब्ध नभएकाले सामग्री वास्तविक श्रमिकसम्म पुगेको सुनिश्चित गर्न नसकिएको लेखापरीक्षणले जनाएको छ।
यसरी कार्यविधिमा उल्लेखित व्यवस्था पालना नभएको निष्कर्ष निकाल्दै लेखापरीक्षणले खरिद गरिएका सुरक्षा सामग्री सम्बन्धित आयोजनामा कार्यरत श्रमिकले प्राप्त गरेको तथा खरिद गरिएका औजारको सदुपयोग भएको पुष्टि हुने प्रमाण पेश गरी रु. १ लाख ९९ हजार ९६४ नियमित गर्न गाउँपालिकालाई निर्देशन दिएको छ।