


दमौली, २६ असार । तनहुँमा बिहीबार तीन जनाले आत्महत्याको प्रयास गरेका छन् । शुक्लागण्डकीमा एक जना र व्यास नगरपालिकामा दुई जनाले आत्महत्याको प्रयास गरेका हुन् । त्यसमध्ये शुक्लागण्डकीमा एक जनाको मृत्यु भएको छ भने व्यास नगरपालिकामा एक जना बेपत्ता छन् । त्यस्तै एक जनाको जीवितै उद्धार गरिएको छ ।
व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने झोलुङ्गे पुलबाट सेती नदीमा हाम फालेकी १७ वर्षीया युवतीको जीवितै उद्धार गरिएको छ । स्थानीय युवा, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ती युवतीको उद्धार गरिएको हो ।
यस्तै व्यास नगरपालिका–५ साँगे र मादी नदीको सङ्गमस्थलमा मादी नदीमा पसेका गुणादीका एक युवा बेपत्ता भएका छन् । उनको खोजी कार्य भइरहेको छ।
शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हिलेटारस्थित सेती नदीमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् ।