शुक्लागण्डकीमा विद्युत सेवाको समस्या समाधान गर्न रास्वपाको ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा विद्युत सेवाको समस्या समाधान गर्न रास्वपाको ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८३, शुक्रबार

    दमौली, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समिति, तनहुँले शुक्लागण्डकी नगरपालिकाभित्र विद्युत आपूर्ति सेवा अव्यवस्थित भएको भन्दै नेपाल विद्युत प्राधिकरण उप–वितरण केन्द्र बेलचौताराको ध्यानाकर्षण गराएको छ।

    समितिका सभापति हरि खड्काले शुक्रबार उप–वितरण केन्द्रका प्रमुखलाई सम्बोधन गर्दै बुझाएको पत्रमा सामान्य वर्षा वा हल्का हावाहुरी चल्दा पनि पटक–पटक विद्युत अवरुद्ध हुने, पूर्वसूचना बिना लाइन जाने, लाइन आउने–जाने क्रम दोहोरिने तथा लामो समयसम्म सेवा पुनः सञ्चालन नहुने समस्याले उपभोक्ता मर्कामा परेको उल्लेख गरिएको छ।

    पत्रमा नगरपालिकाका अधिकांश क्षेत्रमा कम भोल्टेजको समस्या गम्भीर बन्दै गएको जनाउँदै त्यसले घरायसी उपकरण, उद्योग–व्यवसाय, पानी तान्ने पम्प, शैक्षिक संस्था तथा स्वास्थ्य सेवामा प्रत्यक्ष असर परेको उल्लेख छ।

    त्यस्तै, धेरै स्थानमा अझै पनि नाङ्गो विद्युत तार प्रयोग भइरहेका, लाइन वरिपरिका रुखका हाँगाबिँगा समयमै नछाँटिँदा सामान्य हावाहुरीमा समेत लाइन सर्ट हुने, फ्युज उड्ने र विद्युत सेवा अवरुद्ध हुने समस्या दोहोरिने गरेको भन्दै यसले दुर्घटनाको जोखिमसमेत बढाएको रास्वपाले जनाएको छ।

    विद्युत सेवा अवरुद्ध हुँदा उप–वितरण केन्द्रमा सम्पर्क गर्न खोज्दा टेलिफोन नउठ्ने, व्यस्त रहने वा सम्पर्क नै हुन नसक्ने अवस्थाले उपभोक्ताको गुनासो व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएको पनि पत्रमा उल्लेख गरिएको छ।

    रास्वपाले तत्काल प्राविधिक सुधार गरी लाइन जाने समस्या नियन्त्रण गर्न, कम भोल्टेज भएका क्षेत्रमा ट्रान्सफर्मरको क्षमता वृद्धि तथा आवश्यक स्थानमा नयाँ ट्रान्सफर्मर जडान गर्न, जीर्ण तथा नाङ्गो तारलाई चरणबद्ध रूपमा एबीसी केबलबाट प्रतिस्थापन गर्न, लाइन वरिपरिका रुख नियमित छाँट्न तथा मर्मतसम्भारलाई प्रभावकारी बनाउन माग गरेको छ।

    यस्तै, आकस्मिक विद्युत अवरोधका बेला एसएमएस वा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन, हेल्पडेस्क तथा गुनासो व्यवस्थापन प्रणालीलाई २४सै घण्टा प्रभावकारी बनाउन, समस्या प्रभावित क्षेत्रको संयुक्त प्राविधिक निरीक्षण गरी समयसीमासहित सुधार योजना सार्वजनिक गर्न तथा आगामी योजना, बजेट र कार्यान्वयन तालिका उपभोक्तालाई जानकारी गराउन पनि आग्रह गरिएको छ।

    रास्वपाले शुक्लागण्डकी नगरपालिका भित्र रहेका सामुदायिक विद्युत प्रणालीलाई नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा समायोजन गरी व्यवस्थित गर्नसमेत माग गरेको छ।

    उपभोक्ताले नियमित रूपमा विद्युत महसुल तिर्दै आएकाले गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत सेवा पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै रास्वपाले माग सम्बोधन नभए सम्बन्धित उच्च निकाय, नियामक निकाय तथा कानुनी माध्यममार्फत उपभोक्ताको हकहित संरक्षणका लागि आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।