छुवाछुतका घटनामा पीडितलाई कानुनी उपचारको जिम्मा व्यास नगरपालिकाले लिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छुवाछुतका घटनामा पीडितलाई कानुनी उपचारको जिम्मा व्यास नगरपालिकाले लिने

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८३, शनिबार

    दमाैली २७ असार । व्यास नगरसभाले व्यास नगरपालिकालाई ‘छुवाछुत मुक्त नगरपालिका’ घोषणा गर्दै जातीय विभेद तथा छुवाछुतका घटनाविरुद्ध कडा प्रतिबद्धता जनाएको छ। शनिबार सम्पन्न ४५औँ नगरसभाको दोस्रो बैठकले छुवाछुतसम्बन्धी घटनाका पीडितलाई कानुनी उपचार उपलब्ध गराउने सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै लिने निर्णय गरेको हो।

    नगरसभाको निर्णयअनुसार नगरभित्र छुवाछुत वा जातीय विभेदका घटना भएमा पीडितलाई न्याय दिलाउन आवश्यक कानुनी प्रक्रिया, परामर्श तथा सहजीकरणमा नगरपालिकाले प्रत्यक्ष सहयोग गर्नेछ। यस निर्णयले पीडितलाई कानुनी उपचार प्राप्त गर्न आर्थिक वा अन्य कारणले बाधा नपरोस् भन्ने उद्देश्य राखिएको नगरपालिकाले जनाएको छ।

    नगरसभाले व्यास नगरपालिकालाई औपचारिक रूपमा छुवाछुत मुक्त नगरपालिका घोषणा गर्दै संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै नगरवासीलाई सहयोग गर्न आह्वान गरेको छ।

    नेपालको संविधानले जातीय आधारमा हुने छुवाछुत तथा भेदभावलाई निषेध गरेको छ भने जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले यस्ता कार्यलाई कानुनबमोजिम दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको छ। नगरसभाले पनि सोही कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकारको भूमिका थप सशक्त बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको हो।