


दमौली, २८ असार । तनहुँ सौन्दर्य व्यवसायी संघको १७औँ वार्षिक उत्सव तथा १३औँ साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ। संघकी अध्यक्ष विष्णुमाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको पूर्व अध्यक्ष एवं सल्लाहकार आशा बानियाँले उद्घाटन गरेकी थिइन्।
कार्यक्रमकी प्रमुख अतिथि बानियाँले सौन्दर्य व्यवसाय केवल श्रृङ्गारसँग मात्र सम्बन्धित नभई व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सेवा संस्कृतिसँग जोडिएको महत्वपूर्ण पेशा भएको बताइन् ।
कार्यक्रमकी विशिष्ट अतिथि वरिष्ठ सल्लाहकार निर्मला मल्लले सौन्दर्य व्यवसायले विशेषगरी महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। कार्यक्रममा सल्लाहकार अञ्जना तिमल्सेनाले सौन्दर्य व्यवसाय केवल श्रृङ्गारमा मात्र सीमित नरही सीमित यसले हजारौँ महिलालाई आत्मनिर्भर बनाएको बताइन् ।
संस्थाकी अध्यक्ष विष्णुमाया थापाले तनहुँ सौन्दर्य व्यवसाय संघले विगत १७ वर्षदेखि व्यवसायीहरूलाई संगठित गर्दै व्यवसायिक मर्यादा र सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ सशक्त र व्यवसायीमैत्री बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरेकी थिइन्।
कार्यक्रममा पूर्व अध्यक्षहरू धनमाया पौडेल,तिलु थापा, सुषमा पिया श्रेष्ठ, पूर्व उपाध्यक्षहरू जुना दरै, अप्सरा राना, पूर्व सचिव सरस्वती थापा लगायतले सौन्दर्य व्यवसायलाई रोजगार, स्वरोजगार, आत्मविश्वास र आर्थिक सशक्तीकरणसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताएका थिए। संस्थाकी वरिष्ठ उपाध्यक्ष बिमला बिजुक्छेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव आरती गुरुङले गरेकी थिइन्। उक्त साधारण सभाले कोषाध्यक्ष रेवती बिक र सचिव आरतीको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।