नेपाल ट्रेड युनियन कांग्रेस तनहुँद्वारा आत्मदाह घटनाको निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल ट्रेड युनियन कांग्रेस तनहुँद्वारा आत्मदाह घटनाको निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८३, आईतवार

    दमौली, २८ असार । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति तनहुँले काठमाडौं महानगरपालिकाको त्रिपुरेश्वरस्थित सहिद गेट अगाडि गणेश नेपालीले गरेको आत्मदाह घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    शनिबार जारी विज्ञप्तिमा असार २५ गते महानगर प्रहरीले २५ वर्षीय राइडर गणेश नेपालीको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उनले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर आपत्ति जनाइएको छ। युनियनले उक्त घटनाले गरिखाने श्रमिकप्रति राज्यका निकायको दृष्टिकोणमाथि प्रश्न उठाएको उल्लेख गरेको छ।

    विज्ञप्तिमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले हालै प्लेटफर्म क्षेत्रमा कार्यरत श्रमिकसम्बन्धी अभिसन्धि नं. १९३ पारित गरेको सन्दर्भ उल्लेख गर्दै यस्ता घटना हुनु दुःखद भएको बताइएको छ।

    ट्रेड युनियन कांग्रेस तनहुँका अध्यक्ष कृष्ण केसीले प्लेटफर्म क्षेत्रमा कार्यरत राइडरका लागि पर्याप्त पार्किङ व्यवस्था, सुरक्षित सडक तथा सामाजिक सुरक्षाको सुनिश्चितता नभएको अवस्थामा सरकार एकतर्फी रूपमा कडा जरिवाना र दण्डसम्बन्धी कानुन ल्याउन अग्रसर हुनु श्रमिकमाथिको अन्याय भएको बताए ।

    नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न, पीडित राइडरको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

    साथै, श्रमको सम्मान, मर्यादित काम र सामाजिक न्याय सुनिश्चित गर्न सबै तहका सरकारले आवश्यक कदम चाल्नुपर्नेमा युनियनले जोड दिएको छ।