


दमौली, २८ असार । दुई सय तेह्रौं भानु जयन्तीको अवसरमा तनहुँको चुँदीरम्घामा आज आयोजित कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजना गरेको प्रतियोगितामा अधिकारीले प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा सञ्चिता शर्मा द्वितीय, राममाया श्रेष्ठ तृतीय र दयाराम पौडेल सान्त्वना भए ।
रामायण वाचन प्रतियोगितामा पुनम सुनार प्रथम भइन् । प्रतियोगितातर्फ सुजता पौडेल द्वितीय, सरस्वती डौलीया तृतीय र अवानी काफ्ले सान्त्वना भए ।
कविता वाचन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूलाई क्रमशः नगद पुरस्कार रु २० हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजार प्रदान गरिनेछ भने रामायणवाचन प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु १५ हजार, रु दश हजार, रु पाँच हजार र रु दुई हजार प्रदान गरिने समितिका कार्यकारी सचिव कृपाहरि लौडारीले जानकारी दिए ।
उक्त पुरस्कार सोमबार आयोजना हुने भानु जयन्ती विशेष समारोहका बीच प्रदान गरिनेछ । उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सहभागिता रहनेछ ।