


दमाैली २९ असार । तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घामा सोमबार आयोजित भानु जयन्ती कार्यक्रममा बोल्दै सांसद न्यौपानेले भानु जयन्ती केवल औपचारिक कार्यक्रम नभई नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने अवसर भएको बताए।
उनले नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै भाषा, साहित्य र संस्कृतिप्रति सधैं सम्मान र संरक्षणको भावना राख्नुपर्नेमा जोड दिए।
सांसद न्यौपानेले तनहुँ जिल्लाको समृद्धिका लागि स्थानीय स्रोत–साधनको अधिकतम सदुपयोग गर्दै भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
उनले तनहुँलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि आवश्यक पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइने बताए।
“तनहुँ भाषा र साहित्यका दृष्टिले मात्र होइन, भौगोलिक विविधता र प्राकृतिक सम्पदाका हिसाबले पनि उत्कृष्ट सङ्गमस्थल हो,” उनले भने, “यसको पहिचानलाई थप उचाइमा पुर्याउन सबैको साझा प्रयास आवश्यक छ।”
सांसद न्यौपानेले आदिकवि भानुभक्तको जन्मथलोको संरक्षण र विकाससँगै साहित्यिक पर्यटनको विस्तारले तनहुँको आर्थिक, सांस्कृतिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।