


दमाैली २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाका क्रान्तिनायक तथा आदिकवि भानुभक्त आचार्यलाई राज्यले दिनुपर्ने सम्मान र न्याय अझै दिन नसकेको बताएका छन्।
भानु नगरपालिका–४ चुँदीरम्घामा सोमबार आयोजित २१३ औँ भानु जयन्ती समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भानुभक्तको योगदानअनुसार राज्यबाट पर्याप्त प्राथमिकता नपाएको उल्लेख गरे।
“नेपाली भाषाका क्रान्तिनायक भानुभक्त आचार्यलाई जति न्याय दिनुपर्थ्यो, सरकारले त्यति दिन सकेको छैन,” उनले भने, “भानु जयन्तीलाई राष्ट्रिय रूपमा मनाउने विषयमा पनि सङ्घीय सरकारले अपेक्षाअनुसार न्याय गर्न सकेको छैन।”
मुख्यमन्त्री पाण्डेले तनहुँबाट निर्वाचित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति संकेत गर्दै भानुभक्तको जन्मस्थलको विकासका लागि थप सहयोगको अपेक्षा रहेको बताए। “अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यसै क्षेत्रबाट निर्वाचित हुनुहुन्छ। मैले धेरै आशा गरेको थिएँ, तर सोचेजस्तो हुन सकेन,” उनले भने।
उनले गण्डकी प्रदेश सरकारले भने भानुभक्तप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष असार २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको स्मरण गराए। नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो।
मुख्यमन्त्री पाण्डेले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै भाषा, जातजाति, कला र संस्कृतिको समान सम्मान हुनुपर्नेमा जोड दिए। भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न नसके मौलिक पहिचान नै संकटमा पर्ने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने उनले बताए।
गण्डकी प्रदेशभित्र रहेका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, अनुसन्धान तथा प्रवर्द्धनका लागि गण्डकी प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापना गरिएको उल्लेख गर्दै उनले प्रदेशका मौलिक सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घाको संरक्षण र विकासका लागि पनि प्रदेश सरकारले निरन्तर बजेट विनियोजन गर्दै आएको बताए। आर्थिक अवस्थाअनुसार पूर्वाधार निर्माण तथा विकासका कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि जन्मस्थललाई साहित्यिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहने बताए।