निरन्तर वर्षापछि विद्युतीय संरचनाबाट सावधानी अपनाउन प्राधिकरणको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निरन्तर वर्षापछि विद्युतीय संरचनाबाट सावधानी अपनाउन प्राधिकरणको आग्रह

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८३, सोमबार

    दमौली, २९ असार । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले निरन्तर वर्षा र मौसम पूर्वानुमानअनुसार आगामी दिनमा पनि वर्षा जारी रहने सम्भावना रहेकाले विद्युतीय संरचनाबाट सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्राधिकरणका अनुसार लामो समयसम्म पानी पर्दा पहिरो जान सक्ने, विद्युतका पोल ढल्ने वा भाँचिने, तार लत्रिने वा भुइँमा झर्ने, ट्रान्सफर्मर ढल्ने तथा अन्य विद्युतीय संरचनामा क्षति पुग्न सक्ने जोखिम बढेको छ।

    यस्ता अवस्थामा कसैले पनि नेपाल विद्युत प्राधिकरणका प्राविधिक कर्मचारीको अनुमति वा उपस्थितिबिना पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचना नछुन र त्यसको नजिक नजान प्राधिकरणले अनुरोध गरेको छ। साथै अन्य व्यक्तिलाई पनि त्यस्ता जोखिमयुक्त स्थानमा जान वा संरचना छुनबाट रोक्न आग्रह गरिएको छ।

    विद्युतीय संरचनामा क्षति पुगेपछि विद्युत आपूर्ति केही समय वा लामो समयसम्म अवरुद्ध हुन सक्ने भएकाले उपभोक्ताले धैर्य गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

    यदि पोल ढलेको, तार चुँडिएको, रुखले विद्युत लाइनमा क्षति पुर्‍याएको वा अन्य कुनै विद्युतीय जोखिम देखिएमा तत्काल सम्बन्धित सेवा क्षेत्रको कार्यालयमा सम्पर्क गरी जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ।