रातभर भारी वर्षाको जोखिम: अनावश्यक यात्रा नगर्न तनहुँका प्रमुख जिल्ला अधिकारी तिवारीको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रातभर भारी वर्षाको जोखिम: अनावश्यक यात्रा नगर्न तनहुँका प्रमुख जिल्ला अधिकारी तिवारीको आग्रह

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८३, मंगलवार

    दमौली, ३० असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागको जोखिम सूचनाका आधारमा तनहुँ प्रशासनले आज रातिदेखि भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी शिवराज तिवारीका अनुसार नारायणी नदी, त्रिशुली नदी र रोशी खोला आसपासका क्षेत्रमा विशेष जोखिम देखिएकाले चितवन, रसुवा, गोरखा, काभ्रे, तनहुँ र सिन्धुपाल्चोकलगायत जिल्लामा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    उनले तनहुँ भएर बग्ने मर्स्याङ्दी, सेती, मादी, त्रिशुली, कालीगण्डकी लगायतका नदी तथा जिल्लाभित्रका साना–ठूला खोला किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। साथै राजमार्ग तथा भित्री सडक प्रयोग गर्दा पहिरो, ढुंगा खस्ने र लेदो बग्ने जोखिम उच्च रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न उनले आग्रह गरे ।

    तिवारीका अनुसार धादिङ र चितवनतर्फ जाने सडक अवरुद्ध भएपछि साँझ ७:३० बजेदेखि तनहुँबाट ती क्षेत्रतर्फ जाने सवारीसाधन कोत्रे र आँबुखैरेनी नाकामै रोकिएको छ।

    उनले आँबुखैरेनी–२ स्थित पृथ्वीराजमार्गमा राति करिब १०:२० बजे लेदो झरी सडक अवरुद्ध भए पनि तत्काल हटाएर सञ्चालनमा ल्याइएको जानकारी दिए। तर आँबुखैरेनी–मुग्लिङ सडकखण्डमा रातभर साना–ठूला ढुंगा खस्ने तथा पहिरो जाने जोखिम कायमै रहेकाले अत्यधिक सावधानी अपनाउन उनले आग्रह गरे।

    तिवारीले जिल्लाभित्रका सुरक्षा निकाय, सडक सम्बन्धी निकाय र स्थानीय तहहरू उच्च सतर्क अवस्थामा रहेको उल्लेख गर्दै कुनै आपत्कालीन अवस्था आए तत्काल सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन्।