


दमौली, ३० असार । महिला उद्यमी सङ्घ तनहुँ र इनरह्विल क्लब अफ दमौलीको आयोजनामा तथा तनहुँ सौन्दर्य व्यवसायी सङ्घको सहजीकरणमा मङ्गलबार दमौलीमा मेहेन्दी कला एवं सौन्दर्य सीप प्रदर्शनी तथा महिला उद्यमीका उत्पादन प्रदर्शनी सम्पन्न भएको छ।
कार्यक्रममा मेहेन्दी कला, मेकअप तथा सौन्दर्यसम्बन्धी विभिन्न सीपको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। साथै महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकला, खाद्य परिकार, घरेलु तथा स्थानीय उत्पादनका सामग्रीसमेत प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीले महिला उद्यमीहरूको उत्पादनलाई बजारसँग जोड्दै उनीहरूको सीप, क्षमता र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक कार्यक्रम आवश्यक रहेको बताइन्। महिलाले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्न स्थानीय तह, निजी क्षेत्र र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। यस्ता प्रदर्शनीले महिलामा आत्मविश्वास बढाउनुका साथै स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरणा दिने उनले उल्लेख गरिन्।

व्यास नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रमाया परियारले महिलामा रहेको सीप र सिर्जनशीलतालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सबै पक्षको सहयोग आवश्यक रहेको उनको धारणा थियो।

वडा सदस्य रफत साना मियाले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनले आर्थिक विकासमा योगदान पुग्ने उनको भनाइ थियो।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले महिला उद्यमीहरूले उत्पादन गरेका सामग्री र उनीहरूको सफलताको कथालाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उजागर गर्नुपर्ने बताए।
तनहुँ सौन्दर्य व्यवसायी सङ्घका अध्यक्ष विष्णुमाया थापाले सौन्दर्य व्यवसायलाई केवल सेवा क्षेत्रमा सीमित नराखी सीप, सिर्जना र आत्मनिर्भरतासँग जोड्नुपर्ने बताइन्।
कार्यक्रमकी अध्यक्ष तथा महिला उद्यमी सङ्घ तनहुँका अध्यक्ष निर्मला मल्लले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताइन्। महिलामा रहेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जनसँग जोड्न सकिए परिवार र समाज दुवै सशक्त बन्ने उनको भनाइ थियो। उनले महिला उद्यमीले उत्पादन गरेका वस्तुको बजार विस्तारका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको पनि उल्लेख गरिन्।