


दमौली, ९ साउन । लमजुङको मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेस्थित भानु घाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी खड्कबहादुर ठाडा मगरको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति करिब १०:३० बजे अज्ञात व्यक्तिले रिस्ती खोलाको पुल नजिक रहेको भानु घाँसी संवाद पार्कभित्रका दुवै सालिकमा तोडफोड गरी क्षति पुर्याएका थिए।
घटनाको अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवरलाई इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको कमाण्डमा खटिएको टोलीले साउन ८ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुँवरलाई जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याई आपराधिक उपद्रव मुद्दामा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिएका छन्।