


दमौली, १० साउन । तनहुँ प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्गमा सवारी साधन चेकजाँचका क्रममा मुग्लिङबाट डुम्रेतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार दुई जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–९ र दुधपोखरी गाउँपालिका–३ का दुई पुरुष रहेका छन्।
उनीहरूको साथबाट डायजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल र फेनार्गन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषधसहित प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न दुवै जनाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।