


दमौली, १८ साउन । तनहुँ प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार प्रहरी चौकी थर्पुबाट खटिएको टोलीले म्याग्दे गाउँपालिका–१ बरचौरमा सवारी चेकजाँचका क्रममा मोटरसाइकलको पछाडि बोरामा बाँधेर ल्याउँदै गरेको करिब ३ केजी गाँजा बरामद गरेको हो।
गाँजासहित मोटरसाइकल चालक गोरखा जिल्लाको गण्डकी गाउँपालिका–६ निवासी एक पुरुषलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।