


प्रकृति मानिसको नियन्त्रणमा हुँदैन। मानिसले विकासका ठूला ठूला संरचना निर्माण गर्न सक्छ, विज्ञान र प्रविधिको सहायताले जोखिमको पूर्वानुमान गर्न सक्छ, नदीमा तटबन्ध बनाउन सक्छ, सडक र पुल निर्माण गर्न सक्छ, तर प्रकृतिको एउटा शक्तिशाली प्रहारले मानिसका सबै तयारीलाई क्षणभरमै चुनौती दिन सक्छ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा पुर्याएको मानवीय तथा भौतिक क्षति यसैको एउटा पीडादायी उदाहरण हो । बाढीले कतै घर बगाएको छ, कतै सडक र पुलमा क्षति पुर्याएको छ, कतै व्यवसाय र जीविकोपार्जनको आधार खोसेको छ भने कतिपय परिवारलाई अपूरणीय पीडा दिएको छ। प्राकृतिक विपत्तिको यस्तो अवस्था हेर्दा मन भारी हुन्छ, तर यही पीडाबीच नेपाली समाजले देखाएको सहयोग, सद्भाव र मानवीय सम्बन्धले भने एउटा बलियो आशा पनि जगाएको छ।
विपत्तिले मानिसको वास्तविक चरित्र देखाउँछ भनिन्छ । सामान्य अवस्थामा हामी आ–आफ्नो जीवन, विचार, स्वार्थ, राजनीतिक आस्था, सामाजिक पहिचान र व्यक्तिगत प्राथमिकतामा व्यस्त हुन्छौ । विचार फरक हुन्छन्, राजनीतिक बहस हुन्छ, आरोप प्रत्यारोप चल्छ, जात, धर्म, क्षेत्र र वर्गका आधारमा सामाजिक पहिचान निर्माण हुन्छ । तर जब कुनै परिवारको घर बाढीले बगाउँछ, जब कुनै आमाले आफ्नो सन्तानको सुरक्षाका लागि सहयोग माग्छिन्, जब कुनै वृद नागरिक विस्थापित भएर सुरक्षित स्थान खोजिरहेका हुन्छन्, त्यतिबेला मानिसको सबैभन्दा ठूलो परिचय उसको जात, धर्म वा राजनीतिक विचार होइन, उसको मानवता बन्न पुग्छ । यही कारण विपत्तिको समयलाई नेपाली समाजको एकता परीक्षण गर्ने समयका रूपमा पनि हेर्न सकिन्छ ।
भोटेकोशीको बाढीले रसुवा र नुवाकोटलगायतका क्षेत्रमा पुर्याएको क्षतिको खबरले देशका विभिन्न ठाउँमा रहेका नेपालीलाई भावुक बनाएको छ । कोही प्रत्यक्ष घटनास्थलमा पुगेर सहयोग गरिरहेका छन्, कोही राहत सामग्री जुटाइरहेका छन्, कोही आर्थिक सहयोग गरिरहेका छन् भने कोही सामाजिक सञ्जाल र सञ्चारमाध्य ममार्फत सहयोगका लागि आह्वान गरिरहेका छन् । विदेशमा रहेका नेपाली नागरिकको भावना पनि उत्तिकै महत्वपूर्ण देखिएको छ । उनीहरू भौतिक रूपमा घटनास्थलमा पुग्न नसके पनि आफ्नो देश, आफ्नो गाउँ र आफ्ना नागरिकको पीडामा मनदेखि जोडिएका छन् । संकटका बेला विदेशमा रहेका नेपालीले देखाउने सहयोगको भावना केवल आर्थिक सहयोगमा सीमित हुँदैन, त्यसमा मातृभूमिप्रतिको भावनात्मक सम्बन्ध, आफ्नो समाजप्रतिको जिम्मेवारी र दुःखमा साथ दिने नेपाली संस्कार पनि जोडिएको हुन्छ ।
नेपालको सामाजिक संरचना विविध छ । यहाँ विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र समुदायका मानिस बस्छन् । राजनीतिक रूपमा पनि विचार र दृष्टिकोणमा ठूलो विविधता छ । लोकतन्त्रमा यी भिन्नता स्वाभाविक हुन् । फरक विचार हुनु समाजको कमजोरी होइन, लोकतान्त्रिक अभ्यासको हिस्सा हो । तर विपत्तिको समयमा यही विविधताबीच साझा भावना खोज्न सक्नु हाम्रो शक्ति हो । बाढीले कुनै नागरिकलाई उसको जात सोधेर बगाउँदैन, पहिरोले राजनीतिक विचार हेर्दैन, भूकम्पले धर्मको पहिचान गर्दैन र महामारीले वर्ग तथा आर्थिक हैसियत छुट्याउँदैन । प्रकृतिले सबैलाई समान चुनौती दिन सक्छ भने हामीले पनि संकटको समयमा सबैलाई समान मानवीय दृष्टिले हेर्न सक्नुपर्छ ।
बाढीले कुनै नागरिकलाई उसको जात सोधेर बगाउँदैन, पहिरोले राजनीतिक विचार हेर्दैन, भूकम्पले धर्मको पहिचान गर्दैन र महामारीले वर्ग तथा आर्थिक हैसियत छुट्याउँदैन केवल प्रकृतिले सबैलाई समान चुनौती दिन सक्छ भने हामीले पनि संकटको समयमा सबैलाई समान मानवीय दृष्टिले हेर्नुपर्छ ।
त्यसैले विपत्तिको समयमा जातभन्दा माथि उठ्नु, धर्मभन्दा माथि उठ्नु, राजनीतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठ्नु र मानवताको पक्षमा उभिनु नेपाली समाजको महानता हो । विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु कुनै राजनीतिक दल वा संस्थाको प्रचारको विषय होइन, यो हाम्रो मानवीय दायित्व हो । पीडितलाई राहत दिदा उसको राजनीतिक आस्था के हो भनेर सोधिनु हुँदैन । घर गुमाएको परिवारलाई सहयोग गर्दा उसको जात, धर्म वा क्षेत्रको हिसाब गर्नु हुँदैन । राहतको प्राथमिकता वास्तविक आवश्यकता र क्षतिको आधारमा निर्धारण हुनुपर्छ । यही दृष्टिकोणले मात्र विपत्तिको समयमा न्यायपूर्ण समाज निर्माण गर्न सक्छ ।
रसुवा धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट पनि महत्वपूर्ण जिल्ला हो । विशेषगरी जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा देशका विभिन्न भागबाट धार्मिक आस्था बोकेर रसुवातर्फ जाने श्रद्धालुहरूको आवागमन हुने गर्दछ । धार्मिक परम्परा, संस्कृति र पर्यटनसँग जोडिएको यस्तो समयमा आएको बाढीले थप चिन्ता र त्रास पैदा गरेको छ। मानिसहरू धार्मिक यात्रामा जाने तयारीमा रहेका बेला आएको विपत्तिको खबरले परिवार, आफन्त र समाजमा स्वाभाविक रूपमा भय सिर्जना गर्यो । तर सम्भावित जोखिमबारे समयमै सूचना प्रवाह हुनु र सुरक्षा निकाय सक्रिय हुनुका कारण थप मानवीय क्षति कम गर्न सकिएको पक्षलाई पनि सकारात्मक रूपमा हेर्नुपर्छ । विपत्तिको समयमा पूर्वसूचना, नागरिक सचेतना र सुरक्षा संयन्त्रको तत्काल परिचालनले कति ठूलो फरक पार्न सक्छ भन्ने यस घटनाले पुनः देखाएको छ।
संकटमा परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने, घाइतेको उदार गर्ने, बेपत्ताको खोजी गर्ने, जोखिम क्षेत्रबाट मानिसलाई स्थानान्तरण गर्ने र राहत व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय छ। विपत्तिको समयमा सुरक्षा निकायप्रति नागरिकको विश्वास अझ बलियो भएको छ ।
विपत्तिको समयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको भूमिका सधै महत्वपूर्ण रहदै आएको छ । बाढीको भेल, पहिरो र जोखिमयुक्त भूगोलमा आफ्नो ज्यानको प्रवाह नगरी नागरिकको उदारमा खटिनु सजिलो काम होइन । आफ्नो सुरक्षाभन्दा नागरिकको जीवनलाई प्राथमिकता दिएर घटनास्थलमा पुग्ने सुरक्षाकर्मीहरू राज्यको प्रत्यक्ष मानवीय अनुहार हुन् । संकटमा परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने, घाइतेको उदार गर्ने, बेपत्ताको खोजी गर्ने, जोखिम क्षेत्रबाट मानिसलाई स्थानान्तरण गर्ने र राहत व्यवस्थापनमा सहयोग गर्ने उनीहरूको भूमिका प्रशंसनीय छ। विपत्तिको समयमा सुरक्षा निकायप्रति नागरिकको विश्वास अझ बलियो हुने कारण पनि यही हो ।
विपत्तिको खबर केही दिन समाचारको प्रमुख विषय बन्न सक्छ, राहत सामग्री केही दिन वितरण हुन सक्छ, उदारका तस्वीर र भिडियो सामाजिक सञ्जालमा व्यापक हुन सक्छन्, तर पीडित परिवारको वास्तविक जीवन भने त्यसपछि सुरु हुन्छ । घर गुमाएको परिवारले कहाँ बस्ने ? व्यवसाय गुमाएको व्यक्तिले कसरी पुनःआम्दानी गर्ने ? खेतबारीमा क्षति पुगेको किसानले अर्को सिजन कसरी खेती गर्ने ? बालबालिकाको पढाइ कसरी निरन्तर गर्ने ? यस्ता प्रश्नको जवाफ तत्कालीन राहत भन्दा धेरै परसम्म पुग्छ ।
संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै प्रभावित नागरिकको वास्तविक क्षतिको विवरण वैज्ञानिक र तथ्यमा आधारित रूपमा संकलन गर्न निजामती कर्मचारीलाई पनि आवश्यकता अनुसार राहत वितरण, क्षति मूल्यांकन, प्रभावित परिवारको पहिचान, प्रशासनिक समन्वय र पुनःस्थापनाको काममा परिचालन गर्नुपर्छ । सरकारी कर्मचारी कार्यालय भित्रको प्रशासनिक काममा मात्र सीमित रहने होइन, संकटको समयमा नागरिकको घरदैलोमा पुगेर राज्यको सेवा पुर्याउने जिम्मेवारी पनि बहन गराउनु पर्छ ।
संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्छ । प्रभावित नागरिकको वास्तविक क्षतिको विवरण वैज्ञानिक र तथ्यमा आधारित रूपमा संकलन गरिनुपर्छ । निजामती कर्मचारीलाई पनि आवश्यकता अनुसार राहत वितरण, क्षति मूल्यांकन, प्रभावित परिवारको पहिचान, प्रशासनिक समन्वय र पुनःस्थापनाको काममा परिचालन गर्नुपर्छ । सरकारी कर्मचारी कार्यालय भित्रको प्रशासनिक काममा मात्र सीमित रहने होइन, संकटको समयमा नागरिकको घरदैलोमा पुगेर राज्यको सेवा पुर्याउने जिम्मेवारी पनि उनीहरूको हो ।
राहत वितरणमा पारदर्शिता र निष्पक्षता झन् महत्वपूर्ण विषय हो । विपत्तिको समयमा पहुँचवालाले बढी र वास्तविक पीडितले कम राहत पाउने अवस्था आउनु हुँदैन । राहत कसैको राजनीतिक कृपा होइन, संकटमा परेका नागरिकको आवश्यकतामा आधारित सहायता हो । कुन परिवारले घर गुमाएको छ, कुन परिवार विस्थापित भएको छ, कसलाई तत्काल खाद्यान्न चाहिएको छ, कसलाई औषधि आवश्यक छ र कसलाई दीर्घकालीन पुनःस्थापना आवश्यक छ भन्ने स्पष्ट तथ्यांकका आधारमा काम गर्नुपर्छ । राहतमा हुने सानो कमजोरीले पनि पीडितको मनमा ठूलो निराशा पैदा गर्न सक्छ । त्यसैले संकट व्यवस्थापनमा पारदर्शिता केवल प्रशासनिक आवश्यकता होइन, नागरिक प्रतिको नैतिक जिम्मेवारी पनि हो ।
नेपालले प्राकृतिक विपत्तिको सामना पहिलोपटक गरेको होइन । २०७२ मा विनाशकारी भूकम्पको पीडा नेपाली समाजले भोगेको छन् । त्यसपछि कोभिड–१९ को महामारीले संसारसँगै नेपाललाई पनि गम्भीर संकटमा पुर्यायो । हजारौ परिवार प्रभावित भए, आर्थिक गतिविधि रोकियो, रोजगारी गुम्यो र जनजीवन लामो समयसम्म असहज बन्यो । तर हरेक संकटमा नेपाली समाजले आफ्नो सामूहिक शक्ति प्रदर्शन गर्यो । भूकम्पका बेला अपरिचित मानिसको घर बनाउन नेपालीले श्रमदान गरे । महामारीका बेला स्वास्थ्यकर्मीले आफ्नो ज्यान जोखिममा राखेर सेवा गरे । सुरक्षाकर्मी सडकमा खटिए । स्थानीय तहले राहत र व्यवस्थापनमा भूमिका खेले । सामाजिक संघ संस्था र निजी क्षेत्रले सहयोग गरे । संकटले हामीलाई कमजोर मात्र बनाएन, एकअर्काको महत्व पनि सम्झायो । आजको बाढीले पनि त्यही भावना पुनःजगाएको छ ।
विपत्तिको समयमा सञ्चार माध्यम र सञ्चारकर्मीको जिम्मेवारी पनि सामान्य अवस्था भन्दा धेरै बढ्छ । संकटमा परेको नागरिकको सही सूचना जीवन जोगाउने माध्यम बन्न सक्छ । कुन ठाउँ जोखिममा छ, कहाँ सडक अवरुद छ, कहाँ उदार भइरहेको छ, कहाँ राहत आवश्यक छ र कुन सूचना सत्य हो भन्ने कुरा नागरिकले सञ्चार माध्यमबाट जान्न खोजिरहेका हुन्छन् । यस्तो अवस्थामा अपुष्ट सूचना, अफवाह र सनसनीपूर्ण समाचारले झन् ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले सञ्चारकर्मीले प्रत्येक समाचार पुष्टि गरेर मात्र सम्प्रेषण गर्नुपर्छ । मृतकको संख्या, बेपत्ताको विवरण, उदारको अवस्था वा क्षतिको विवरणमा विशेष संवेदनशीलता आवश्यक हुन्छ । पीडितको पीडालाई समाचारको सामग्री मात्र नबनाई मानवीय संवेदनासहित प्रस्तुत गर्नु पत्रकारिताको जिम्मेवारी हो । एउटा आमाको आँसु, एउटा बालकको भय वा आफ्नो घर गुमाएका वृदको पीडालाई सनसनीपूर्ण दृश्यका रूपमा प्रस्तुत गर्नु पत्रकारिताको उद्देश्य होइन । उनीहरूको आवाज राज्यसम्म पुर्याउनु, वास्तविक समस्या उजागर गर्नु र राहत तथा पुनःस्थापनामा आवश्यक सूचना प्रवाह गर्नु पत्रकारिताको सकारात्मक भूमिका हो । संकटको समयमा सञ्चारकर्मीको कलमले त्रास होइन, सत्य र भरोसा फैलाउनुपर्छ ।
सरकारका कामको आलोचना गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो । तर विपत्तिको समयमा सरकारले गरेका सकारात्मक कामलाई सकारात्मक रूपमा स्वीकार गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । सुरक्षा निकाय परिचालन हुनु, उदारमा राज्यका संयन्त्र सक्रिय हुनु, प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सारिनु, राहत सामग्री पठाइनु र सडक तथा पूर्वाधार सञ्चालनका लागि प्रयास हुनु राज्यका महत्वपूर्ण जिम्मेवारी हुन् । नागरिकले संकटको समयमा सरकारबाट चमत्कार खोजेका हुँदैनन्; उनीहरूलाई आफ्नो दुःखमा राज्य साथमा छ भन्ने अनुभूति चाहिन्छ । त्यो भरोसा कायम राख्न सरकारका सबै तहले संवेदनशीलता, पारदर्शिता र जवाफदेहिता देखाउनुपर्छ ।
भोटेकोशीको बाढीले हामीलाई अर्को महत्वपूर्ण प्रश्न पनि सोधेको छ हामी विकास गरिरहेका छौ कि जोखिम पनि निर्माण गरिरहेका छौ ? सडक चाहिन्छ, पुल चाहिन्छ, घर चाहिन्छ, उदोग र व्यवसाय चाहिन्छ तर यी सबै निर्माण गर्दा प्रकृतिको क्षमता र जोखिमलाई बेवास्ता गरियो भने विकास नै विपत्तिको कारण बन्न सक्छ । त्यसैले अब विकास र वातावरण बीच सन्तुलन कायम गर्ने समय आएको छ ।
विपत्तिले भौतिक संरचना बगाउन सक्छ, तर हाम्रो सामूहिक चेतना बलियो बनाउन पनि सक्छ । एउटा गाउँको पीडा अर्को गाउँले महसुस गर्न सक्छ । एउटा जिल्लाको दुःख अर्को जिल्लाको नागरिकले आफ्नो दुःख ठान्न सक्छ । यही भावनाले राष्ट्र निर्माण हुन्छ । राष्ट्रियता केवल सीमामा उभिएर व्यक्त हुने भावना होइन; संकटमा परेको नागरिकको हात समात्दा पनि राष्ट्रियता प्रकट हुन्छ । देशप्रेम केवल राष्ट्रिय झण्डा बोकेर नारामा व्यक्त हुँदैन; दुःखमा परेका नागरिकलाई सहयोग गर्दा त्यसको वास्तविक अर्थ देखिन्छ । आज रसुवा र नुवाकोटका प्रभावित परिवारलाई हाम्रो साथ चाहिएको छ । भोलि कुनै अर्को भूगोलमा विपत्ति आउन सक्छ । आज हामी सहयोग गर्ने अवस्थामा छौ भोलि सहयोग माग्ने अवस्थामा पनि हुन सक्छौ । त्यसैले विपत्तिमा सहयोग गर्ने संस्कारलाई कुनै एउटा घटनासँग सीमित गर्नु हुँदैन । यो हाम्रो राष्ट्रिय संस्कार बन्नुपर्छ ।
हाम्रो राजनीतिक विचार फरक रहोस्, धार्मिक आस्था फरक रहोस्, सामाजिक पहिचान फरक रहोस् तर संकटमा परेको मानिसलाई सहयोग गर्ने कुरामा हाम्रो मन एउटै हुनुपर्छ । भोटेकोशीको भेलले धेरै कुरा बगाएको हुन सक्छ, तर त्यसले नेपाली मनको सद्भाव बगाउन नसकोस् । बाढीले सडक र पुल भत्काएको हुन सक्छ, तर नेपाली–नेपालीबीचको सम्बन्ध भत्किन नदिऔँ । विपत्तिले केही परिवारलाई निराश बनाएको हुन सक्छ, तर उनीहरूको आशा मर्न नदिऔ । हामीले भूकम्प सामना गर्यौँ, महामारी सामना गर्यौँ, बाढी र पहिरो सामना गरिरहेका छौँ। प्रत्येक संकटले हामीलाई एउटा पाठ सिकाएको छ एक्लैले होइन, एक भएर मात्र ठूलो विपत्तिको सामना गर्न सकिन्छ । त्यसैले अहिले सबैभन्दा आवश्यक कुरा एउटै छ हामी नेपाली एक भएर अघि बढौ । महत्वपूर्ण कुरा, दुःखमा परेका नागरिकलाई फेरि मुस्कुराउने वातावरण बनाउनका लागि मानिसको मानिस प्रतिको माया नै सबैभन्दा ठूलो उज्यालो हो ।
प्रदिप न्यौपाने लेखक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन्