


दमौली, २६ साउन । खाना पकाउने ग्यासको सहज आपूर्ति हुनुपर्ने माग राख्दै अनसनमा बसेका दमौलीका माधव अधिकारीले अनसन तोडेका छन् । सोमबारदेखि अनसनमा बस्नुभएका अधिकारीले आज सहमति भएपछि अनसन तोडेका हुन् ।
जिल्लामा पछिल्लो समय खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्या समाधान गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउनुपर्ने माग राख्दै अधिकारी अनसनमा बसेका थिए । उनले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन तथा कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै अनसन सुरु गरेका थिए ।
अनसन तोडाउने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले अधिकारीलाई जुस खुवाएका थिए । सहमति अनुसार बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिने, नियमित रूपमा बजार अनुगमन गर्ने तथा कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने कार्य नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ ।
उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण बनाउन सम्बन्धित निकायले आवश्यक समन्वय र अनुगमनलाई प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ।