


दमौली, ३१ साउन । जेसीआई व्यास नगरद्वारा आयोजना गरिएको ‘व्यास नगर साइनिङ स्टार’ को अडिसन शनिबारदेखि सुरु भएको छ। ९ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा रहेको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको अडिसन आइतबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
अडिसनमा सहभागी बालबालिकाले आफ्नो रुचि र क्षमता प्रस्तुत गरिरहेका छन्। अडिसनबाट उत्कृष्ट २० जना बालबालिका छनोट गरिनेछ। छनोट भएका प्रतिभाहरूलाई आगामी एक महिनासम्म विभिन्न विधामा प्रशिक्षण प्रदान गरिनेछ।
प्रशिक्षणका क्रममा बालबालिकाको प्रतिभालाई थप निखार्दै उनीहरूको आत्मविश्वास, प्रस्तुति क्षमता तथा सिर्जनशीलता विकासमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ। बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा रहेको सम्भावनालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
एक महिनासम्मको प्रशिक्षणपछि असोज ३ गते ‘व्यास नगर साइनिङ स्टार’ को फाइनल कार्यक्रम आयोजना गरिनेछ। फाइनलमा छनोट भएका २० जना बालप्रतिभाले आफ्नो प्रस्तुति दिनेछन्।
बालबालिकाको प्रतिभा पहिचान र क्षमता विकाससँगै उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा अघि बढ्न प्रेरित गर्ने कार्यक्रमले स्थानीय स्तरमा रहेका बालप्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको मूल संयोजक सुनिल श्रेष्ठले बताए ।