


दमौली, १८ भदौ । व्यास नगरपालिका–३ स्थित वाराही आवासीय माध्यमिक विद्यालयले देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि रु १ लाख १० हजार ८० आर्थिक सहयोग प्रदान गरेको छ।
विद्यालय परिवारको सामूहिक पहलमा विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त योगदानबाट उक्त रकम संकलन गरी प्रदान गरिएको हो। विपद्को कठिन परिस्थितिमा पीडितप्रति ऐक्यबद्धता र मानवीय संवेदना व्यक्त गर्दै राहत सहयोग अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
संकलित सहयोग रकम केवल आर्थिक सहयोग मात्र नभई विद्यालय समुदायको करुणा, एकता र सामाजिक उत्तरदायित्वको प्रतिबिम्ब भएको विद्यालयको भनाइ छ।
सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारका सदस्यप्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ।