


तनहुँ, २६ भदौ । म्याग्दे गाउँपालिका–२ स्थित श्री राधा माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको दुर्घटना बीमा गरिएकोमा दुर्घटनामा परेका एक विद्यार्थीको बीमा दाबी पाँच कार्यदिनमै भुक्तानी गरिएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, दमौली शाखामार्फत प्रति विद्यार्थी रु १५० बीमा शुल्कमा रु १ लाखसम्मको दुर्घटना बीमा सुरक्षा उपलब्ध गराइएको थियो। सोही बीमा योजनाअन्तर्गत कक्षा ५ मा अध्ययनरत बिपुल थापाको घरमा खाटबाट लडेर हात भाँचिएपछि उनका अभिभावकले बीमा दाबीका लागि निवेदन दिएका थिए।
निवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, दमौली शाखाले पाँच कार्यदिनभित्रै दाबी भुक्तानी गरेको हो। भुक्तानी भएको दाबी रकम विद्यार्थीका अभिभावकलाई हस्तान्तरण गरिएको शाखा प्रमुख रोबिन श्रेष्ठले जानकारी दिए।
उक्त घटनाले दुर्घटना बीमाको व्यवहारिक महत्वसमेत पुष्टि गरेको श्रेष्ठको भनाइ छ। “दुर्घटना कहिले र कहाँ हुन्छ भन्ने थाहा हुँदैन, तर जोखिम आइपर्दा त्यसबाट हुने आर्थिक भारलाई बीमामार्फत व्यवस्थापन गर्न सकिन्छ,” उनले भने।